काठमाडौं- युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज घरेलु टोली युएईसँग दोस्रो एकदिवसीय खेल खेल्दैछ।
तीन एक दिवसीय र तीनवटा टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले शुक्रबार भएको पहिलो एक दिवसीयमा कमजोर ब्याटिङ प्रदर्शनका कारण ३ विकेटले पराजित हुनपुगेको थियो।
दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा नेपाल र युएईबीचको दोस्रो खेल नेपाली समयअनुसार आज बिहान ११:१५ मा सुरु हुनेछ।
पहिलो एकदिवसीय सिरिज जित्ने लक्ष्यमा रहेको नेपाललाई युएईसँगको दोस्रो खेल निकै महत्वपूर्ण रहेको छ।
शुक्रबारको खेलमा पराजित भएपछि नेपाली टोलीको मुख्य प्रशिक्षक जगत टमाटाले कमजोर ब्याटिङ प्रदर्शनका कारण खेल हार्नुपरेको बताउँदै आजको खेल जित्न कुनै पनि हालतमा ब्याटिङमा सुधार गर्नुपर्ने बताए।
उपकप्तान ज्ञानेन्द्र मल्लले शुक्रबारको पहिलो खेलमा नेपाल पराजित हुनुमा ब्याट्सम्यानकै कमजोरी रहेको स्वीकार गर्दै आजको खेलमा ब्याटिङ सुधार गर्ने दाबी गरे।
आइसिसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिज खेलिरहेको नेपाललाई सिरिज जोगाउन पनि आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा जित निकाले नेपालले सिरिज १–१ को बराबरी गर्नेछ। दोस्रो खेल गुमाए नेपालको पहिलो एकदिवसीय सिरिज जित्ने सपना अधुरो रहनेछ।
युएई नेपालविरुद्धको ३ खेलको सिरिजमा १–० ले अघि छ। नेपालको यो पाँचौ एकदिवसीय खेल हुनेछ। जिम्बाबेमा सम्पन्न विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको नेपालले गत असारमा नेदरल्यान्डसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। जुन सिरिज १–१ को बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।