धनगढी- हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्ला प्रभावित भएको छ भने तीन दिनदेखि दशरथचन्द र जयपृथ्वी राजमार्गका हिउँ सफा नहँदा यातायात बन्द भएको छ।
दार्चुला, बैतडी र बझाङको मुख्य दशरथचन्द र जयपृथ्वी राजमार्ग खोड्पेमा भएको हिमपातले गर्दा बुधबारदेखिको यातायात सेवा चलेको छैन। दार्चुला, बैतडी र बझाङसहित अन्य जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीका यातायात साधन बैतडीको खोड्पेमा जाममा परेका छन्।
जयपृथ्वी राजमार्गको खोड्पे, ढोल्यामोड र श्रीभावर र दशरथचन्द राजमार्गको अनारखोली, खोड्पे, सतबाँझ, बजारलगायत क्षेत्रमा करीब छ इञ्च बाक्लो हिउँ जमेको छ। राजमार्गमा जमेको हिउँ हटाउन राति हिउँ लगातार पर्ने गरेकाले सडक खुलाउने पहल भएपनि लगातारको पानी र हिमपातले सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
चार दिनदेखि बैतडी जिल्ला सदरमुकाममा बिजुली नभएकाले जनजीवन प्रभावित भएको छ। टेलिफोन अवरुद्ध भएको र मोबाइल फोन चार्ज गर्न समस्या भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।