काठमाडौं- स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बिहान स्वेदश फर्कंदैछन्।
डाभोस सहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो। मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एसियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएक थिए।
उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवर्द्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए।
प्रधानमन्त्रीले नेपालको लोकतन्त्र र स्वतन्त्र प्रेसका पक्षमा आफूले आधा शताब्दीभन्दा बढी सङ्घर्ष गरेको उक्त मञ्चमार्फत अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।