धादिङ- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहमा पुनःनिर्माण प्राविधिक एकाइ बनाउने तयारीमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको बताएका छन्।
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले शुक्रबार धादिङबेसीमा आयोजना गरेको निजी आवास पुनःनिर्माण कार्यान्वयनमा देखिएका समस्या तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताए।
स्थानीय तहको सरकारसँग मिलेर भूकम्प पीडितको नाममा दोहोरो सुविधा लिने र फर्जी विवरण दिएर सुविधा लिनेको पहिचान गर्ने र फर्जी भएका सबैलाई कारवाही गर्ने उनले बताए। पुनःनिर्माण प्राधिकरण तथा कुनै पनि सरकारी निकायसँग एकीकृत सूचना प्रणाली नभएका कारण नक्कली पीडितको पहिचानमा ढिलाइ भइरहेकोले स्थानीय तहलाई त्यस्ता व्यक्तिको विवरण पठाई दिन आग्रह गरिएको र सार्वजनिक सूचना पनि प्रकाशित गएिको ज्ञवालीको भनाइ थियो।
सो अवसरमा जिल्लाका १३ वटा स्थानीय तहमा कार्यरत प्राधिकरणका इञ्जिनीयरको सहभागिता थियो। भौगोलिक विकटता, सूचना प्रविधिको पहुँचमा कमी जस्ता कारणले समयमै प्रतिवेदन तथा फोटो पठाउन नसकिएको इञ्जिनीयरको गुनासो थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।