काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विद्ययक पारित भएको आजको घटनाले सरकारले अधिनायकवादी आकांक्षालाई उजागर गरेको जनाएको छ।
संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि आक्रोशित कांग्रेसले पत्रकार सम्मेलन गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विपक्षीरहित संसद चाहेको पुष्टि भएको जनाएको छ।
सभामुख कृष्णबहादुर महराकाे कदमप्रति रुष्ट कांग्रेसले 'सिंगो सदनको साझा नेताबाट सभामुखले स्वेच्छिक अवकाश लिएको' आरोप लगाएको छ।
प्रधानमन्त्री, सभामुख, नेकपा लगायतको संगठित प्रयत्नले डा केसीसँगको सम्झौता कार्यान्वयन हुन नसकेको कांग्रेसको ठहर छ।
'शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी' भनेर घोषणापत्रमा उल्लेख गर्ने सरकारले निश्चित वर्गको हितमा काम गरी सामान्य नागरिकको भावनामा कुठाराघात गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
डा केसीको अनसन १७औं दिनमा चलिरहँदा पनि संवाद सुरू नगर्नुलाई कांग्रेसले नेकपा सरकारले केसीलाई 'मरे हुन्छ' जस्तै विवेक प्रदर्शन गरेको बताएको छ।
सरकारले आफ्ना दुई पूर्व सभापतिका नाममा रहेका अस्पताल नामेट गरी प्रतिपक्षलाई द्वन्दको लागि खुला आमन्त्रण गरेको उल्लेख गरेको छ।
सरकारको कदमका विरुद्धमा छिट्टै नै देशव्यापी विराेधका कार्यक्रम सार्वजनिक गर्ने पनि प्रवक्ता शर्माले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।