काठमाडाैं- पूर्व सभामुख सुवास नेम्वाङले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संसदीय विधि र प्रक्रियाबाटै पारित भएको दाबी गरेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङले विगतमा संसदीय अभ्यास र स्थापित परम्पराअनुसार नै पारित गरिएको सो विधेयकलाई विवादमा नल्याउन पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गरे।
विधेयक पारित भएपछि सञ्चाकर्मीमाझ उनले प्रमुख प्रतिपक्ष कांग्रेससँग दुई दिनयता धेरै पटक गरिएको छलफलको आधारमा सभामुख कृष्णबहादुर महराले सो विधेयकलाई संसदमा निर्णयार्थ पेस गरेको दाबीसमेत गरे।
आफूसहितको सहभागितामा कांग्रेसका नेताहरुसँग छलफल गरेर पारित गरिएको सो विधेयक संसदीय प्रक्रिया अनुरुपनै रहेको नेम्वाङको तर्क छ।
उपनेता नेम्वाङले कांग्रेस नेताहरुको नाममा स्थापित दुई वटा अस्पताल विघटन नहुनेमा पनि आश्वास्त पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै अस्पताल खारेज नहुने कुरा संसदमा बोलेकोतर्फ पनि कांग्रेस नेतृत्वको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।