काठमाडौं– संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलका नेतालाई खबर नै नगरिएको भन्दै कांग्रेसले संसदमै प्रतिवाद गर्ने भएको छ।
पार्टी सभापति शेर बहादुर देउवालाई परिषद बैठकमा डाक्दै नडाकी नियुक्तिहरू गरिएको भन्दै कांग्रेस रुष्ट भएको थियो।
चार दिन अघि भएको संवैधानिक परिषद्को बैठकमा विभिन्न ६ निकायमा अध्यक्ष तथा सदस्यहरु नियुक्त गरिएको थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव बालानन्द पौडेल,समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा विजयकुमार दत्त, थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई अध्यक्षका लागि सिफारिस बैठकले सिफारिस गरेको थियो।
बैठकमा देउवाको उपस्थितिबिना नियुक्ति भएपछि केन्द्रीय समितिको बैठक त्यही विषयमा केन्द्रित भएको छ।
बैठकमा सरकारको निर्णय प्रक्रियाप्रति सदस्यहरुले आपत्ति जनाएका थिए। संसदमा सरकारको कार्यप्रति कांग्रेसले प्रतिवाद गर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी गराए।
शुक्रबारको संसद बैठकको सुरुवातमै उक्त मुद्दालाई कांग्रेसले उठाउने भएको छ। महासमिति बैठकबाट पारित हुन नसकेका प्रस्ताव र नेविसंघका बारेमा छलफल गर्न डाकिएको बैठक सरकारको निर्णय प्रति मोडिएको थियो।
अर्को बैठक आइतबार बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।