काठमाडौं– अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने खेलाडीलाई दश हजार प्रदान गर्ने भएको छ।्
आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडका बीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ।
सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृतले कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ।
‘हामीले पहिलोपटक प्रतियोगितासँग जोडिएका छौं,’ अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘खेलाडी, अफिसियल तथा दर्शकको बिमासँगै हामीले छक्का प्रहार गर्ने खेलाडीलाई दशहजार रुपैयाँ पनि दिने भएका छौं।’
सम्झौता अनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार पाउँनेछन्। क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए।
प्रतियोगिता आउन आधामहिना बाँकी रहँदा ८० प्रतिशत तयारीको काम सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएको थियो।
डीपिएलको ६ वटै टोलीलाई दुई जना अनिवार्य व्यवसायिक खेलाडी राख्नुपर्ने प्रावधान छ। अन्तर्राष्ट्रिय खेलाडीहरु ल्याउनपनि आइसिसीको मान्यता आवश्यक पर्छ।
रुस्लान डीपीएलको तेस्रो संस्करण अनुमानित लागत ५ करोड रुपैयाँको लागतमा फाप्ला क्रिकेट मैदानमा हुदैछ। जसमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्।
६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५—१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्।
टी–२० फम्र्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।