काठमाडौं– नेपाल र युएईबीचको एकदिवसीय सिरिज शुक्रबार सुरु हुँदैछ। दुई टिमले ३ एकदिवसीय र ३ टी–२० खेल खेल्दैछन्। सबै खेल दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा हुनेछन्।
नेपालले गत वर्ष एकदिवसीय मान्यता पाएपछि दोस्रो पटक सिरिज खेल्न लागेको हो। यसअघि नेपालले नेदरल्यान्ड्ससँग एकदिवसीय सिरिज खेलेको थियो। यूएईसँग भने नेपालले पहिलो पटक सिरिज खेल्न लागेको हो।
नेदरल्यान्ड्सविरुद्धको सिरिज बराबरीमा सकिएको थियो। त्यसैले नेपालका लागि पहिलो पटक एकदिवसीय सिरिज जित्ने मौका छ। यस्तै ३ खेलपछि नेपाल एकदिवसीय वरीयतामा पनि आउने भएकाले सिरिज नेपाली क्रिकेटका लागि महत्वपूर्ण रहेको कप्तान पारस खड्काले बताएका छन्।
खेल तालिका
सबै खेल आइसिसी एकेडेमी मैदानमा हुनेछन् भने प्रवेश निशुल्क रहेको छ।
पहिलो एकदिवसीय – माघ ११ – बिहान ११:१५ (नेपाली समय)
दोस्रो एकदिवसीय – माघ १२ – बिहान ११:१५
तेस्रो एकदिवसीय – माघ १४ गते– बिहान ११:१५
पहिलो टी–२०– माघ १७ गते– दिउँसो २:४५
दोस्रो टी–२०– माघ १८ गते– दिउँसो २:४५
तेस्रो टी–२०– माघ २० गते– दिउँसो २:४५
प्रत्यक्ष प्रसारण
इमिरेट्स क्रिकेट बोर्डले खेलको प्रत्यक्ष प्रसारण गर्नेछ। प्रत्यक्ष प्रसारण बोर्डको सोसल मिडियामा उपलब्ध हुनेछ। यस्तै क्रिक इन्फो र आइसिसीले टेक्स्ट लाइभ दिनेछन्।
टिम समाचार
युएई टिममा नियमित कप्तान रोहान मुस्ताफासहित ३ खेलाडी हुनेछैनन्। रोहानसँगै अहमेद राजा र रमिज साहजालाई इमिरेट्स क्रिकेट बोर्डले ८ हप्ताको लागि प्रतिबन्ध लगाएको थियो।
बोर्डको आचार संहिता बिपरित ट्विट गरेको भन्दै तीन खेलाडी कारबाहीमा परेका थिए। उनीहरुले पाकिस्तानमा भएको एसिसी इमर्जिङ टिम्स कपमा आयोजकले कमजोर व्यवस्थापन गरेको भन्दै ट्विट गरेका थिए। मुस्ताफा कारबाहीमा परेपछि युएईको कप्तान मोहमद नावीदले गर्नेछन्।
सिरिजमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले अन्तर्राष्ट्रिय मिडियाको ध्यान तान्ने विश्वास गरिएको छ। गत वर्षदेखि विश्वक्रिकेटमा तहल्का मच्चाएका सन्दीप अस्ट्रेलियाको बिग बास लिग र बंगलादेश प्रिमियर लिग खेलेर नेपाली टिमबाट खेल्न फर्किएका छन्।
कस्तो होला प्रतिस्पर्धा?
दुवै टिम एकअर्काबारे जानकार छन्। गत वर्ष नामिबियामा भएको डिभिजन २ र जिम्बावेमा भएको आइसिसी विश्वकप छनोटमा दुवै टिमले प्रतिस्पर्धा गरेका छन्। डिभिजन २ को समूह चरणको खेलमा नेपालले युएईलाई हराएको थियो। फाइनलमा नेपाल र युएई भिडेका थिए। फाइनलमा भने नेपाललाई युएईले पराजित गरेको थियो। सो खेलमा नेपालका कप्तान पारस खड्काले शतक प्रहार गरेका थिए।
यस्तै जिम्बावेमा भएको विश्वकप छनोटको वार्मअप खेलमा नेपालले युएईलाई हराएको थियो। गत सेप्टेम्बरमा मलेसियामा भएको एसिय कप छनोटमा नेपालमाथि युएईले सानदार जित निकालेको थियो।
लामो समयदेखि प्रतिस्पर्धा गरिरहेका नेपाल र युएईले सन् २०१२ को एसिसी ट्रफी आपसमा बाडेका छन्। सारजाहमा भएको फाइनलमा खेल बराबरीमा सकिएको थियो। त्यसैले चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र युएईबीचको खेल प्रतिस्पर्धामा हुने पक्का छ।
नेपाली टिम– पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा
युएई टिम– मोहमद नावीद (कप्तान), मोहमद उस्मान, अस्फाक अहमेद, चिराग सुरी, सइमान अनवार, मोहमद बोता, गुलाम साबेर, इमरान हइदर, तहिर मुग्हाल, अमिर हायत, जहूर खान, क्वादीर अहमेद, फावाद नवाज, अब्दुल शाकूर, शुल्तान अहमेद, सिपी रिजवान
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।