कञ्चनपुर – नेपाल भारत सीमा क्षेत्र कञ्चनपुरको पुनर्वास नगरपालिकाको डोकेबजारमा भारतीय पक्षले एकपक्षीयरुपमा नाली तथा तारजाली निर्माण गर्न लागेको छ।
सीमा स्तम्भ नम्बर १५३/१७१ मा पर्ने दशगाजामा डोजर प्रयोग गरेर भारतीय पक्षले झण्डै दुई किलो मिटरसम्म नाली निर्माण तथा तारजाली गर्न लागेको हो। चार दिन अघिदेखि कामसुरु गरेको भारतीय पक्षले अहिलेसम्म आधाभन्दा बढी नाली निर्माणका लागि खाल्डो खनिसकेको छ।
स्थानीयको गुनासो आएपछि बिहिबार नेपाली सुरक्षा समितिले यस्तो कार्य रोक्न अनुरोध गरेको छ। आज भने सो क्षेत्रमा कुनै कामअघि नबढेको कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले जानकारी दिए।

दुधवा राष्ट्रिय निकुञ्जका वन रक्षक मनोजकुमारले भने चोरी शिकारी, अवैध तस्करी नियन्त्रण गर्न सो क्षेत्रमा नाली तथा तारजाली निर्माण गर्न लागिएको दावी गरेका छन्। ‘हाम्रै सिमानामा जैविक मार्गलाई अप्ठ्यारो नपर्ने गरीे नाली निर्माण गर्न लागिएको हो,’ उनले भने।
डोकेबजारका स्थानीयले भने भारतीय पक्षले सिमाना अतिक्रमण गर्ने उद्देश्यले सो निर्माण गर्न लागेको बताए। भारतीय पक्षले निर्माण गर्न लागेको काम तत्काल बन्द हुनुपर्ने माग गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।