हेटौँडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश यातायात व्यवस्था सेवा कार्यालय स्थापना भई सेवा विस्तार भएपछि प्रायः सबै अधिकार प्रदेशमा आइसकेको बताएका छन्।
बुधबार आयोजित प्रदेश कार्यालय शुभारम्भ कार्यक्रममा उनले भने, 'यो प्रदेश सरकारको ठूलो उपलब्धि हो।' मुख्यमन्त्री पौडेलले यस कार्यालयबाट धेरैभन्दा धेरै सेवाग्राहीले सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्नेतर्फ सचेत रहन कर्मचारीलाई निर्देशन दिँदै मुख्यमन्त्री पौडेलले असन्तोषका कुरा सुन्न नपर्ने वातावरण बनाउन आग्रह गरे। पौडेलले कार्यलयलाई थप व्यवस्थित बनाउँदै लैजाने र आवश्यक जनशक्ति पनि व्यवस्थापन गर्ने तथा आगामी दिनमा पनि प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यालयले ब्लू बुक नवीकरण सबै प्रकारका सवारी कर, जाँच पास जस्ता कार्य गर्ने प्रदेश ३ का यातायात कार्यालय हेटौँडाका कार्यालय प्रमुख पोषण थापाले बताए। छिट्टै नै यातायात व्यवस्था सेवा कार्यालयले लाइसेन्स नवीकरण पनि गर्ने उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।