अनसनरत डा केसीको मागका बारेमा अनभिज्ञ कोही छैनन्। १६औं अनसन गरेको स्थान इलामका जनताले पनि केसीको माग र उहाँले उठाएका विषयबारे यसपटक थप बुझ्ने अवसर पाए।
केसी अनसन बसेको स्थल वरपरका चियापसलेहरुले पनि केसीका माग बुझेका थिए। केसीको माग के हो भनी स्पष्ट बुझिने आधारलाई बिहीबार मध्यरात उहाँलाई हतारहतार काठमाडौं ल्याउनुपर्ने कारणसँग जोडेर हेर्न सकिन्छ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि केसीको उपचार इलाममै गर्न सकिएको भए उहाँलाई हतार-हतारमा मध्यरातमा पहल गर्नुपर्ने थिएन। उहाँको अनसन इलाममै जारी रहने थियो।
डा केसीलाई हेलिकोप्टरको व्यवस्था भएर जब भद्रपुर ल्याइयो सरकारको संरक्षणमा अनसन बसेका एक जना व्यक्तिलाई एयरपोर्ट ल्याइसकिएको रहेछ। एक घन्टासम्म हामी अलपत्र पर्यौं।
बिहीबार केसीको स्वास्थ्य अवस्था बुझ्नका लागि प्रबुद्ध वर्गसहितको टोलीका साथ म पनि अनसनस्थल इलाम पुगेको थिएँ। त्यस समय स्थानीयले हामीसँग इलामको ऐतिहासिकताका बारेमा बताउनुभयो। इलामबाट निर्वाचित पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ। स्थानीयहरुले हामीसँग उहाँहरुले आफ्नो जिल्लाको स्वास्थ्यका क्षेत्रमा ध्यान नदिएको गुनासो गर्नुभयो।
जिल्ला अस्पतालमा आकस्मिक बिरामीको लागि अक्सिजन पनि थिएन। त्यस अवस्थामा रहेको जिल्लाबाट निर्वाचित भएर स्वास्थ्यका क्षेत्रमा कुनै काम नगरेको भन्दै इलामे जनतामा उहाँहरुप्रति वितृष्णा जागेको हामीले पायौं। त्यहाँका जनताले जिताएका झलनाथ खनाल उपचारका लागि केही महिनाअघि चीन जानुभयो। त्यहाँका जनताले तिरेको करबाट उपचार गर्न बाहिर जाने नेताहरुले आफ्नो क्षेत्रको स्वास्थ्य अवस्था ख्याल गर्नुपर्छ कि पर्दैन?
प्रधानमन्त्रीले केसीको माग सम्बोधन गर्नुको साटो ‘डाइलुट’गर्न खोज्नुभएको छ। इलामे जनताले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुभयो भने समस्याको हल त्यसै विन्दुबाट सुरु हुन्छ। राज्यले केसीको मुद्दालाई डाइलुट गर्न खोज्नु डरलाग्दो संकेत हो।
बिहीबार साँझ इलाममा पुग्दा डा केसी निमोनियाका कारण ग्रस्त हुनुभएको थियो। स्वासप्रश्वासमा समस्या थियो। कृत्रिम स्वासप्रश्वासको व्यवस्था हुन सकेको थिएन। उपचारमा संम्लग्न डाक्टरहरुले सल्लाह र माथिल्लो निर्णय खोजिरहनुभएको थियो। डा केसीलाई हेलिकोप्टरको व्यवस्था भएर जब भद्रपुर ल्याइयो सरकारको संरक्षणमा अनसन बसेका एक जना व्यक्तिलाई एयरपोर्ट ल्याइसकिएको रहेछ। एक घन्टासम्म हामी अलपत्र पर्यौं। जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको रहेछ। ती व्यक्तिलाई पनि सँगै काठमाडौं लैजान दबाब दिइयो। गृह सचिवको निर्देशन भएकाले केसीका विरुद्धमा अनसन बसेकालाई पनि काठमाडौं ल्याउनुपर्ने बताइएको थियो। यसैबाट हामी बुझ्न सक्छौं, सरकार डा केसीको मागलाई सम्बोधन गर्न चाहेको छ कि भिडन्त।
यहाँ डा केसी र प्रधानमन्त्रीले जित्ने वा हार्ने कुरा होइन। मेरो वर्तमान सरकारलाई आग्रह छ- केसीले जिते, प्रधानमन्त्रीले पनि जित्नुहुन्छ। तर, केसीले हार्दा प्रधानमन्त्रीले जितेर पनि हार्नुहुन्छ।
हामीले अर्को व्यवस्था गर्छौं भनी अडान लिएपछि राति नै काठमाडौं आइपुग्यौं। ती व्यक्तिलाई भोलिपल्ट काठमाडौं ल्याइयो। आइसियूमा भर्ना गर्नुपर्दैन भन्दाभन्दै जबरजस्ती उनलाई भर्ना गरियो। सरकारको निर्देशनका कारण उक्त कक्षमा राख्नुपरेको अस्पताल प्रशासनले भनिसकेको पनि छ।
इलाम जाँदैगर्दाको अर्को उदाहरण पनि छ। संयोगवश एयरपोर्टमा नेकपाका चार सांसदसँग भेट भयो। उहाँहरुले डरमिश्रित भावमा भन्नुभयो, ‘हामीहरु डा केसीको माग पूरा हुनुपर्छ भनी लागिरहेका छौं। तर, पार्टीको निर्देशन छ। हामी बाध्यतामा परेका छौं।’ हामीले संसद् सार्वभौम छ भन्छौं, तर म प्रश्न गर्छु– सार्वभौम कसरी भयो? यसरी ह्वीप जारी गरेर, दबाएर सार्वभौम संसद् हुन सक्दैन। हरेकपटक निर्वाचन हुँदैगर्दा उम्मेदवारले भन्ने गर्नुहुन्छ, हामी अस्पताल बनाउछौं, चिकित्सक पठाउँछौ। उहाँहरु बारम्बार किन झुठ बोलिरहनुहुन्छ? डा केसीसँग भएको सम्झौता अनुसार विधेयक पारित भए गाउँगाँउमा चिकित्सक पुर्याउने ग्यारेन्टी हामी लिन सक्छौं।
मागमा सम्झौता हुन सक्दैन तर प्रक्रियामा सहयोग गर्छौं भनी नै विगतमा सम्झौता भएको हो। यहाँ डा केसी र प्रधानमन्त्रीले जित्ने वा हार्ने कुरा होइन। मेरो वर्तमान सरकारलाई आग्रह छ- केसीले जिते, प्रधानमन्त्रीले पनि जित्नुहुन्छ। तर, केसीले हार्दा प्रधानमन्त्रीले जितेर पनि हार्नुहुन्छ। विज्ञको सुझाव सुन्न र पेलेर जान नखोज्न आग्रह गर्दछु।
(डा केसीका सहयोगी डा अभिषेकराज सिंहले केसीको पक्षमा भएको विरोध र्यालीपछि शनिबार काठमाडौंमा गरेको सम्बोधनको सम्पादित अंश)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।