रोल्पा- उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले याे वर्षभित्रै रोल्पाका सबै घर उज्यालो हुने बताएका छन्। बिहीबार रोल्पाको थवाङमा आयोजित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटनका क्रममा मन्त्री पुनले सो कुरा बताएका हुन्।
'स्थानीय नदीनालाबाट उत्पादन हुने उर्जा र वैकल्पिक ऊर्जासमेत प्रयोग गरी जिल्लालाई अँध्यारोमुक्त बनाउने गरी काम थालनी गरेका छाैं', मन्त्री पुनले भने, 'जिल्लाका लुङ्ग्री, माडीजस्ता नदीबाट विद्युत उत्पादन हुने गरी सम्भाव्यता अध्ययन भइसकेकाले उत्पादनको काम अगाडि बढाउँछौँ।
हरेक वडामा विद्युत विस्तार गर्ने गरी चालू आवमा २९ करोड रुपैयाँको टेण्डर भइसकेको जानकारी दिँदै उनले थप ३२ करोड रुपैयाँको अर्को टेण्डर गर्नेगरी प्रक्रिया अगाडि बढेको बताए।
जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था र मठमन्दिरमा वैकल्पिक ऊर्जाको रुपमा सौर्य उर्जालाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउँदै मन्त्री पुनले यस जिल्लामा सुन, तामा तथा मार्वलका खानीसमेत रहेकाले निजी क्षेत्रको लगानीमा उत्खनन्काे प्रक्रिया पनि बढाइने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।