धनगढी– रुस्लान थ्री स्टार क्लबले मेची नेत्रालय काँकरभीट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बुधबार धनगढी रंगशालामा रुस्लान थ्री स्टारका लागि १४ औं मिनेटमा सुनील बलको कर्नरमा रन्जन विष्टको प्रहार रिबाउन्ड भएपछि अडामा डुम्बियाले गरेको प्रहार काकरभिट्टाका गोलरक्षक दीप कार्कीले बचाए। २१ औं मिनेटमा थ्री स्टारका फोडे फोफानाले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन।
दोस्रो हाफको ५३ औं मिनेटमा थ्री स्टारको रुपेश केसीको भली प्रहार दीप कार्कीले बचाए। अर्कोतर्फ काँकरभीट्टाका एन्जल गुरुङको प्रहार आकाशियो । ६९ औं मिनेटमा थ्री स्टारले अग्रता लियो।रन्जन विष्टको क्रसमा बुद्ध चेम्जोङले दिएको हेडर पासमा ६ यार्ड बक्सभित्र अनमार्क रहेका रुपेश केसीले गोल गरे।
८० औं मिनेटमा थ्री स्टारले अग्रता दोब्बर पार्यो। सुनील बलले पेनाल्टी क्षेत्रको ठिक बाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गरे। विकास राईले रन्जन विष्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले राईलाई पहेंलो कार्ड देखाएका थिए।
उत्कृष्ट प्रदर्शन गरेका थ्री स्टारका मिडफिल्डर सुनील बल खेलको आरके कन्स्ट्रक्सन म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे । विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले लिगको पिडा बिर्साउन मोफसलमा सुखद सुरुवात गर्न तत्पर रहेको बताए।
यस जितसँगै थ्री स्टारले प्रतियोगिताको उपाधि भिडन्तमा आफ्नो स्थान पक्का गरेको छ । फाइनल खेल शनिबार हुनेछ । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी क्लब संकटा र नेपाल पुलिस क्लब खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।