काठमाडौं– गायक एवम् संगीतकार क्षितिज गिरीको नयाँ गीत ‘मायालु’ बजारमा आएको छ। दुइ वर्षअघि प्रस्तुत गरेको ‘सम्बन्ध’ एल्बममा विशेषतः ‘सेलो रक’ प्रस्तुत गरेका उनले यसपाला भने नेपाली गायनलाई ‘साल्सा’ र ‘फ्लेमिंगो’को मिश्रणमा तयार पारेका छन्।
‘सम्बन्ध’ एल्बममा तामाङ सेलोलाई पश्चिमा रकको स्वादमा ढालिएको थियो। यसपटक ‘मायालु’ गीतमा भने स्पेनियाली प्रभावको साल्सा र म्याक्सिकाली फ्लेमिंगोको स्वाद पाउन सकिन्छ।
‘नेपाली संगीत हाम्रो आफ्नै मौलिक पहिचानमा समृद्ध छ,’ यसरी विभिन्न प्रयोग गर्नुको कारण खुलाउँदै क्षितिज भन्छन्, ‘तर, आधुनिक समयमा विश्व मञ्चसम्म हाम्रो नेपालीपन लैजानका निम्ति यसलाई फराकिलो दायरामा पनि ढाल्नुपर्ने देखेर यी प्रयोगहरु गर्दै आएको छु।’
यसले नेपाली भाषामा मात्र सीमित श्रोताहरुलाई पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेका संगीतकर्मसँग नजिक्याउने उनको बुझाइ छ।
सन् १९९६ मा प्रज्ञा प्रतिष्ठानमा आयोजित राष्ट्रिय पप संगीत प्रतियोगीतामा क्षितिज सम्मिलत् ब्यान्डले तयार पारेको गीत ‘निलो आकाशमा’ले उत्कृष्ठ संगीत सिर्जनाको उपाधि जितेको थियो। उक्त प्रतियोगीतालगत्तै क्षितिज उच्च शिक्षाका निम्ति विदेशीए र उतै स्थापित भए।
‘अष्ट्रेलियामा नियमित आयोजना भइरहने अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रमहरुले मलाई यस क्षेत्रमा रहिरहन पनि सहयोग गर्यो’, क्षितिज भन्छन्।
प्रस्तुत गीतमा संगीत र स्वर क्षितिजको आफ्नै छ भने शब्द गिरीश गिरीले लेखेका हुन्। गीतको संगीत संगोजन गोपाल रसाइलीले गरेका छन्। हरि हुमागाइँको छायाँकन रहेको म्युजिक भिडियोमा सन्तोष लामिछानेको निर्देशन छ। भिडियोमा शरद र शिवानीले अभिनय गरेका छन्।
हाल गिरी दोश्रो एल्बमको तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।