काठमाडौं– काठमाडौंका प्रिन्स दाहालले दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्राम अन्तराष्ट्रि आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकल तर्फको उपाधि हात पारेका छन्। उनले नेपाली सेनाका प्रफुल महर्जनलाई २१–१३ र २१ –१३ को समान अन्तरले पराजित गर्दै उपाधी कब्जा गरेका हुन्।
दाहालको दुई साताभित्र यो दोश्रो अन्तराष्ट्रिय उपाधि हो। उनले हालै विराटनगरमा भएको राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा यू—१९ र यु—१५ दुवै तर्फ उपाधि जितेका थिए।
सेमिफाइनलमा पुरुष एकलतर्फ प्रिन्सले रुकेश महर्जनलाई र प्रफुलले एपिएफका सुनिल जोशीलाई पराजित गरेका थिए।
दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्टस् ग्रामको आयोजनामा भएको प्रतियोगिताको मिक्स युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र अनुमाया राईको जोडी विजयी भयो। रत्न र अनुको जोडीले फाईनलमा एपिएफका दिपेश धामी र पुजा श्रेष्ठको जोडीलाई २१–१९, २०–२२ र २१–१६ ले पराजित गर्दै उपाधि चुमे। दिपेश र पुजाको जोडीले एपिएफकै गौतम कठायत र सुनैना मुखियालाई पराजित गरेका थिए।
भेट्रान्स युगलतर्फ पुष्पलाल स्मृती ब्याडमिन्टका बिजेता धनकुटाका किरण प्रधान र योगेश्वर श्रेष्ठको जोडीले बिर्ता ब्याडमिन्टन क्लबका संजय भक्तराज र केबी गुरुङको जोडीलाई २१–१८ र २१–१७ ले पराजित गर्दै उपाधि हात पारे ।
पुरुष युगल तर्फको खेलमा एपिएपका दिपेश धामी र बिजित थापा मगरको जोडी र सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी फाईनल प्रवेश गरे। धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१७ र २५ –२१ को अन्तरले तथा तामाङ्ग र श्रेष्ठले गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१– ९ र २१–१२ ले पाखा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।