धनगढी– क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले पराजित गर्दै सीएमजी क्लब संकटा बुधबार तेस्रो नेपाल आइस अन्तर्रा्ष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा खेलको दोस्रो मिनेटमा नै लक्ष्मण रुचालको पासमा एलोन म्याक्सवेलले गोल गर्दै संकटालाई अग्रता दिलाए। खेलको १२ औं मिनेटमा लक्ष्मण रुचालले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक गुर्लाउन्सले बचा । पहिलो हाफको इन्जुरी समयमा दाउफिन्सका कप्तान ले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारले पोस्टको दिशा लिन सकेन।
दोस्रो हाफको पाँचौं मिनेटमा दाउफिन्सले खेल बराबरी गर्ने मौका गुमायो। गोलरक्षक पोजिसनमा नहुँदा आर्मेलको क्रसमा जुनियरको हेडरले पोस्टको दिशा लिन सकेन। ५३ औं मिनेटमा टिनाको क्रसमा नियाले ६ यार्ड बक्सभित्रबाट गरेको हेडर क्रसबारभन्दा थोरै माथिबाट बाहिरियो। खेलको दुई मिनेट समय बाँकी रहँदा जुनियरको पासमा टिनाको प्रहारले पोस्टको दिशा लिन सकेन।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका कप्तान रवि सिलवालले आरके कन्स्ट्रक्सन म्यान अफ दि म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे।
संकटाले अब बिहिबार हुने सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ। पराजित टोलीका प्रशिक्षक आशिक थापामगरले लामो यात्रा तय गर्नुपरेको कारण टोलीले अपेक्षित प्रदर्शन गर्न नसकेको बताए। संकटाका प्रशिक्षक सल्यान खड्गीले खेलाडीले आफ्नो रणनीति अनुसार खेलेको कारण नै जित हासिल गरको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।