एडिलेट– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ३९औं एकदिवसीय शतक प्रहार गरेका छन्।
कोहलीले एडिलेटमा भइरहेको अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा शतक प्रहार गरेका हुन्। उनले १ सय ८ बलमा शतक पूरा गरेका थिए। उनले शतक पूरा गर्ने क्रममा ५ चौका र २ छक्का हिर्काए।
अस्ट्रेलियाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा कोहली १ सय ४ रनमा आउट भए। कोहलीलाई अस्ट्रेलियाका जे रिचार्डसनले ग्लेन म्याक्सवेलको हातबाट क्याच गराए।
कोहलीको यो समग्रमा ६४औं शतक हो। उनले टेस्ट क्रिकेटमा २५ शतक प्रहार गरेका छन्। योसँगै कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीको तेस्रो स्थानमा उक्लिएका छन्। कोहलीले श्रीलंकाका पूर्वकप्तान कुमार सांगाकारालाई पछि पारेर तेस्रो स्थानमा उक्लिएका हुन्। सांगाकारले अन्तर्राष्ट्रिय क्रिकेटमा ६३ शतक प्रहार गरेका थिए।
अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी शतक प्रहार गर्ने खेलाडी सचिन तेन्दुल्करले १०० शतक बनाएका थिए। दोस्रो स्थानमा रहेका अस्ट्रेलियाका रिकी पोन्टिङले ७१ शतक बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।