काठमाडाै - नागरिक समाजका अगुवाहरुले सातदिन देखि इलाममा अनसनरत डा. गाेविन्द केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गरेका छन्। डा. केसीसँग गरिएका सम्झौता अनुरुप चिकित्सा शिक्षा विधेयक पास गर्न नागरिक समाजका २० जना अगुवाहरुले आग्रह गरेका हुन। नेपाल सरकारले यसअघि डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी रहेको भन्दै यस्तो आग्रह गरेका हुन्।
पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उनकै निवासमा भएका वार्तापछि सम्भव भएको स्मरणा गराउँदै उनीहरुले अपिलमा भनेका छन् । 'यसको पालना गरिनु प्रधानमन्त्री ओलीको व्यक्तिगत जिम्मेवारी समेत रहेको स्मरण गराउन चाहन्छाै, जारी साझा बक्तव्यमा भनिएको छ, 'हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गरिनुपर्छ।'
वक्तव्यमा सहमति जनाउनेमा सुशिला कार्की, दमननाथ ढुंगाना, भैरव रिसाल, केदारभक्त माथेमा, प्राडा ध्रुवचन्द्र गौतम, प्राडा अभि सुवेदी, राजेन्द्र दाहाल, प्राडा जयराज आचार्य, प्राडा दिल्लीदेवी शाक्य, प्राडा मदन उपाध्याय, प्राडा रमेशकान्त अधिकारी, प्राडा शेखर गुरुङ, प्राडा वीरेन्द्र मिश्र, प्राडा नोबेल किशोर राई, रामदयाल राकेस, प्राडा सरोज धिताल, डा मधु घिमिरे, डा द्वारिका ढुंगेल, गीता केसरी र खेमराज रेग्मी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।