काबुल– अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ भएको शक्तिशाली ट्रक बम बिस्फोटमा परि चार व्यक्तिको मृत्यु हुनुका साथै अन्य ९० जना घाइते भएका छन्।
घाइते भएकामा २३ जना बालबालिका पनि छन्। गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले बिस्फोटमा भएको क्षतिको विवरण संकलन भइरहेको बताएका छन्। विस्फोटबाट मारिएकाहरूमा तीन जना सैनिक र एक जना सर्वसाधारण छन्।
घाइते भएकामा १२ जना महिला पनि छन्। उक्त बिस्फोट निकै सुरक्षित मानिएको “ग्रीन जोन” छेउमै रहेको अफगानिस्तान निर्वाचन आयोगको कार्यालय नजिकै भएको थियो।
अफगानिस्तानको संसदका लागि गत अक्टोबरमा चुनाव भए पनि काबुलको नतिजा सोमबार मात्र निर्वाचन आयोगले सार्वजनिक गरेको थियो।
उक्त चुनावमा आठसय भन्दा बढी उम्मेदवार भए पनि २४ जना पुरुष र ९ जना महिला विजयी भएका छन्।
अफगानिस्तानको २ सय ४९ सदस्यीय संसदका लागि भएको चुनावको परिणाम घोषणामा ढिलाइ भइरहेको छ।
चुनावमा पराजित भएकाहरूले समग्र निर्वाचन प्रक्रियामै धाँधली भएको आरोप लगाएका छन्।
सोमबार भएको यस बिस्फोटको करिब एक घण्टापछि दानिसले गरेका ट्वीटमा घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको बताएका छन्।
प्रहरीले यस आक्रमणमा तालिबान र इस्लामिक स्ट्टेसमध्ये एक समूहको संलग्नता रहेको अनुमान गरेको छ।
काबुल आक्रमणको जिम्मेवारी तालिबानले लियो
यसैबीच प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको राजधानी काबुलमा सोमबार साँझ गराइएको बम विस्फोटको जिम्मेवारी तालिबान लडाकू समूहले लिएको छ।
काबुलका सोमबार साँझ भएको एक बिस्फोटमा परि चार व्यक्तिको मृत्यु हुनको साथै अन्य ९० जना घाइते भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।