काठमाडौं– घरेलु क्रिकेट प्रतिबन्धमा परेपछि लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको नेपाली महिला राष्ट्रिय टोलीले थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास क्रिकेट प्रतियोगितामा लागातार तीन खेल जित्दै सेमिफाइनलमा पुगेपछि नेपाली महिला क्रिकेट टोलीको चर्चा सुरु भएको छ।
पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको नेपाली टोलीले दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा बलियो टोली यूएईलाई पराजित गर्न सफल भइसकेको छ। सेमिफाइनल पुगिसकेको नेपालले समूह चरणको अन्तिम खेलमा माघ २ गते थाइल्याण्डसँग खेल्नेछ।
राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले केही महीना अघिदेखि नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षक पद सम्हालेपछि नेपाली टोली अहिले थाइल्याण्डमा उक्त प्रतियोगिता खेलिरहेको छ। राष्ट्रिय क्रिकेट टोलीलाई लामो समय सफल नेतृत्व गरेका दास प्रशिक्षणमा समेत अब्बल देखिएका छन्।
नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफाइङ खेल खेलेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन। रुबिना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्।


करीब दुई वर्षसम्म अन्तर्राष्ट्रिय सहभागिता र प्रशिक्षकबिना रहेको नेपाली टोलीले थाइल्याण्डमा उत्कृष्ट प्रदर्शन गर्नु नेपालमा महिला क्रिकेटको सम्भावना बलियो रहेको क्रिकेट सम्बद्ध पदाधिकारीले बताएका छन्।

नेपाल क्रिकेट सङ्घ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डेले उचित अवसर र प्रशिक्षण पाए पुरुषभन्दा महिला टोलीले पहिला एक दिवसीय विश्वकप खेल्न सक्ने बताए।
उनले भने, “पछिल्ला वर्ष नेपालमा महिला क्रिकेट अवस्था शून्य जस्तै छ, यो अवस्थाको अन्त्य गर्नु जरुरी छ।” नेपाली क्रिकेटको अभिभावक संस्था क्यान विगत तीन वर्षयता विश्व क्रिकेट सङ्घ (आइसिसी) को निलम्बनमा रहेका कारण नेपालले भौतिक पूर्वाधार र घरेलु प्रतियोगितामा भने अपेक्षाअनुसार सुधार गर्न सकेको छैन।
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान एलबी क्षेत्रीको पहलमा नेपालमा महिला क्रिकेटको उदय भएको थियो। क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’मा क्षेत्रीले नेपालमा महिला क्रिकेटको उयदबारे उल्लेख गरेका छन्। पहिलो टोलीमा उपकप्तान रहेका उनी १९९८ मा राष्ट्रिय टोलीका कप्तान बनेका थिए ।
“केटीले पनि क्रिकेट खेल्ने ?”, सन् २०१६ सालताकाको घटना स्मरण गर्दै क्षेत्रीले पुस्तकमा उल्लेख गरेका छन्, “तत्कालीन क्रिकेट सङ्घमा महिला क्रिकेटको प्रस्ताव राख्दा साथीले शुरुमा पत्याएका थिएनन् । कतिपय पदाधिकारीलाई त महिला क्रिकेट प्रतियोगिता हुन्छ भन्ने पनि थाहा थिएन।”
क्षेत्रीले त्यतिबेला बाँकेका विभिन्न ३३ विद्यालय पुगेर क्रिकेटसम्बन्धी प्रशिक्षण दिएको र महिला क्रिकेटको परिवेश सिर्जना गरेका थिए। २०६१ साल फागुन १५ गते क्षेत्रीको सपनाले साकार रूप लिएको थियो। नेपाली किशोरी पहिलो पटक औपचारिकरूपमा ब्याट बोकेर मैदान उत्रेका थिए। उक्त प्रतियोगितामा २९ वटा विद्यालयले सहभागिता जनाएका थिए।
उक्त प्रतियोगिता नै पहिलो राष्ट्रिय महिला क्रिकेट टोली छान्ने आधार बनेको थियो। क्षेत्रीले पुस्तकमा जनाएअनुसार त्यसपछि २०६४ सालमा बाँके र रुपन्देही महिला टोलीबीच तीनवटा मैत्रीपूर्ण खेल भएको थियो। उक्त प्रतियोगिता हेर्न तत्कालीन क्यानका अध्यक्ष विनयराज पाण्डलगायत पदाधिकारी त्यहाँ पुगेका थिए।
त्यतिबेला नै पाण्डेले छिट्टै नेपाली राष्ट्रिय महिला टोली घोषणा गर्ने र प्रथम एसिसी प्रतियोगितामा नेपालको सहभागिता गराउने बचन दिएका थिए। अध्यक्ष पाण्डे काठमाडौँ फर्कनासाथ २०६४ सालमा नेरी थापाको कप्तानीमा पहिलो राष्ट्रिय महिला घोषणा गरिएको थियो।
“मैले स्कुले पोशाकमै मैदानमा ल्याएर बल र ब्याट समात्न सिकाएँ, उनीहरूले नै अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मैदानसम्म नेपालको प्रतिनिधित्व गर्दै ट्रफी उचाले, मलाई धेरै गर्व लाग्छ”, क्षत्रीले भने।
-कुमार चौलागाईं/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।