धनगढी- थारु समुदायले नयाँ वर्ष र मुख्य पर्वका रुपमा मनाउँदै आएको माघीमा कैलालीका तीन वटा स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा घोषणा गरेका छन्।
टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन्। तीनै तहको कार्यपालिका बैठकले माघीमा थप बिदा दिने निर्णय गरेका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले भने, 'संविधानमा स्थानीय तहले बिदा दिने निर्णयको व्यवस्था छैन।’ तहले आफुखुसी बिदा दिने निर्णयले संघीयतामा प्रश्न चिन्ह खडा हुने उनले चिन्ता व्यक्त गरे।
टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले भने थारु समुदायको मुख्य पर्व, अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ मा बिदा दिइएको बताइन्।
थारु कल्याणकारीणी सभा र थारु नागरिक समाज कैलालीले बर्सेनि माघीमा ३ दिन बिदा माग गर्दै आएका छन्। माघीका अवसरमा पुस मसान्तका दिन, माघ १ र २ गते गरी ३ दिन बिदा माग गरिरहे पनि सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते मात्रै सार्वजनिक बिदा दिएको छ।
‘केही स्थानीय तहले माघ २ मा बिदा दिनु स्वागतयोग्य कुरा हो,’ थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले भने, ‘प्रदेश ५ ले माघ १ र २ बिदा दिएको छ, सुदूरपश्चिम प्रदेशमा पनि तराईमा थारु समुदायको पर्व र पहाडी क्षेत्रमा माघे संक्रान्ति पनि धुमधामका साथ मनाइन्छ, प्रदेश सरकारलेनै तीन दिनै बिदा दिनुपर्थ्यो।’
थारु समुदायमा पुस मसान्तमा जीता (बंगुर) मार्ने, १ गते चेलिबेटीलाई निसराउ (अन्न, रुपैयाँ) दिने र माघ २ गते खोज्नीबोझनी (परिवारको वार्षिक जिम्मेवारी बाँडफाँट र गाउँमा बडघर, चिराकी, गुरुवा छान्ने) गर्ने गरिन्छ।
१३ वटा स्थानीय तह रहेको कैलालीका थारु बहुल भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका र अन्य तहमा भने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय अनुसार माघ १ मा मात्रै सार्वजनिक बिदा दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।