दुबई- युएईमा भइरहेको एएफसी एसियन कप फुटबल प्रतियोगिताअन्तर्गत भारत समूह चरणबाटै बाहिरिएको छ।
सोमबार राति भएको समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बहराइनसँग पराजित हुँदा भारतको अन्तिम १६ मा पुग्ने अभियान सफल हुन सकेन। भारत एसियन कप खेलिरहेको एक्लो दक्षिण एसियाली देश हो।
भारतले बहराइनविरुद्ध दोस्रो हाफको इन्जुरी टाइममा पेनाल्टीमा गोल खाएको थियो। पाँच मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा प्रोनय हल्डेरले पेनाल्टी क्षेत्रमा बहराइनका हमेद अल्सामसनमाथि फल गरेपछि रेफ्रीले पेनाल्टी दिने निर्णय गरेका थिए। प्राप्त पेनाल्टीमा बहराइनका जमल रसिदले कुनै गल्ति गरेनन्।
अन्तिम समयम गोल खाँदै पराजित हुँदा भारत समूह 'ए' मा ३ अंक जोडेर चौथो स्थानमा रह्यो। यसअघि भारतले पहिलो खेलमा थाइल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हारेको थियो।
बहराइनसँग बराबरी खेलेको भएपनि भारत दोस्रो चरणमा पुग्ने पक्का हुने थियो। यो समूहमा ५ अंक जोडेको युएई र ४ अंक जोडेको थाइल्यान्ड दोस्रो चरणमा पुगेका छन्। ४ अंक जोडेर तेस्रो स्थानमा रहेको बहराइनको पनि अन्तिम १६ मा पुग्ने सम्भावना बाँकी नै छ। ६ समूह मध्ये ४ समूहका उत्कृष्ट तेस्रो टिम अन्तिम १६ मा पुग्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।