चितवन– पवित्र तीर्थस्थल देवघाटधामस्थित वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत शुभारम्भ गरिएको छ।
हरिहर सन्यास आश्रमका पीठाधीस ज्ञानानन्द सरस्वती, महेश सन्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गममा गङ्गाजीको विधिवत पूजाआजा गरी लिंगो ठड्याइएको हो। सो अवसरमा बटुकहरुले स्वस्तिवाचनसमेत गरेका थिए।
सन्त, महन्थ, तीर्थालु भक्तजन, विभिन्न गुरुकुलका विद्यार्थी, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यलगायतको सो अवसरमा उपस्थिति थियो। लिङ्गो ठड्याएसँगै आजदेखि औपचारिक रुपमा माघे सङ्क्रान्ति मेला अर्थात मकर मेला सुरु भएको छ। चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गममा वेणी रहेको छ।
देवघाटमा आजदेखि ३ दिन विशेष माघी मेला लाग्ने छ भने माघ महिनाभर मकर स्नानका लागि श्रद्धालुहरु देवघाट आउने गर्दछन्। यस वर्ष ५ लाखभन्दा बढी भक्तजन देवघाट आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ।
सोहीअनुसार सुरक्षा, यातायात, शौचालयलगायतको व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले जानकारी दिए। मेला अवधिभर नदी वारपारका लागि ३० वटाभन्दा बढी डुङ्गाको व्यवस्था गरिएको छ।
मेला भर्न आइतबारदेखि नै नेपाल तथा छिमेकी देश भारतका विभिन्न क्षेत्रबाट भक्तजन आउने क्रम सुरु भएको छ। आज राति देवघाटमा ३ लाखको हाराहारीमा भक्तजन दीप प्रज्ज्वलन गरी भजनकिर्तन गरेर बस्ने क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिनरनबाबु घिमिरेले दाबी गरे।
ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ पनि भनिएको हो। सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने सङ्क्रान्ति) र मकर राशि (माघे सङ्क्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लडु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने जनविश्वास रहिआएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।