काठमाडौं- कर्मचारी संघ, संगठनहरुले प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवमाथि कडा कारबाही गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले सोमबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ज्ञापनपत्र बुझाउँदै सचिव झालाई कुटपिट गर्नेमाथि कडा कारबाही गर्न माग गरेका हुन्।
आइतबार मन्त्री यादवले सचिव झाललाई आफ्नै कार्यकक्षमा कुटपिट गरेका थिए। सो घटना निन्दनीय भएको उल्लेख गर्दै कर्मचारी संघ, संगठनहरुले सो सम्बन्धमा सत्यतथ्य छानबिन गर्न र आफूहरुसहितको सहभागिता हुनेगरी उच्चस्तरीय छानबिन समिति गठन गर्न पनि माग गरेका छन्। कर्मचारीको भावनामा आघात पुग्ने गरी सो घटना भएको उल्लेख गर्दै निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष भोलानाथ पोखरेलले दोषीमाथि कारबाही र निर्दोषलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे।
कर्मचारीहरुमाथि पटक–पटक दुर्व्यवहार हुने गरेको भन्दै कर्मचारी संघ, संगठनहरुले त्यस्ता खालको क्रियाकलाप तत्काल नरोकिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन्। उपाध्यक्ष पोखरेलले कार्यक्षेत्रमा कर्मचारीहरुको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
यता, मन्त्री पण्डितले भने सो घटनामा गल्ती गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। सो घटनाका सम्बन्धमा छानबिन गर्न प्रदेश २ को सरकारले छानबिन समिति गठन गरेको उल्लेख गर्दै सो प्रतिवेदन आएपछि दोषीमाथि कारबाही गर्ने उनले बताए।
कालोपट्टी बाँधेर काममा
यसैबीच, मन्त्रीले सचिवमाथि कुटपिट गरेको विरोधमा धनुषाका निजामति कर्मचारीहरु सोमबार हातमा कालोपट्टी बाँधेर कार्यकक्षमा उपस्थित भएका छन्।
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धनुषाले सोमबार मुख्यमन्त्री लालबाबु राउतलाई समेत ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा सचिवमाथिको हातपातले कर्मचारीको मनोबल गिराउने काम गरेको उल्लेख छ।
घटनाको छानबिन गरी २४ घन्टाभित्र सत्यतथ्य सार्वजनिक नगरे विरोधका कार्यक्रमलाई यथावत राख्ने निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।