राजविराज– विकासका नाममा भइरहेका अव्यवस्थित कृयाकलाप र संरक्षणको ठोस कार्यक्रम नहुँदा पूर्व क्षेत्रमा गिद्ध लोप हुन थालेको छ।
प्रकृतिको कुचीकारको रुपमा रहेको गिद्ध पर्यावरण संरक्षणका लागि महत्वपूर्ण मानिन्छ।
एक दशकअघिसम्म कोसीटप्पु वन्यजन्तु आरक्ष तथा सप्तरी, सुनसरी र उदयपुरकाका आरक्ष आसपासका क्षेत्रमा जतातत्तै देखिने गिद्ध अहिले कमै मात्र देख्न पाइन्छ।
आरक्ष लगायत उदयपुरको मैनामैनी, रामपुर ठोक्सिला, आम्वासी, सप्तरीको ओद्राहा, कमलपुर, फत्तेपुर, कञ्चनपुर, जगतपुर, भारदह, पोर्ताहा तथा सुनसरीका महेन्द्रनगर आसपासका क्षेत्रलाई गिद्धको वासस्थान मानिन्छ।
गिद्धले सिमलको रूखमा आफनो वासस्थल बनाउँछ। तर, पछिल्लो सिमलका रुखहरू नै नष्ट हुन थालेपछि गिद्धको संख्या पनि कम हुन थालेको छ।
यसका साथै आहाराको कमी, अवैज्ञानिक रुपमा विस्तार गरिएका विद्युतीय तार तथा अनियन्त्रित रुपमा बढेको डाइक्लोफिनेक जस्ता एन्टीबायोटिकको प्रयोगले गिद्ध लोप हुन थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्राविधिक परमेश्वर यादव बताउँछन्।
कोसी टप्पु वन्यजन्तु आरक्ष तथा आसपासका क्षेत्रमा करिब ६ सय गिद्ध रहेको अनुमान छ। आरक्षका सूचना अधिकृत गणेश तिवारीका अनुसार आरक्षमा पाइने कुल ५ सय २६ जातका चराचुरुङ्गीमध्ये गिद्ध दुर्लभ र संरक्षण गर्नै पर्ने चरा हो।
तर, गिद्ध संरक्षणका लागि आरक्षमा कुनै विशेष कार्यक्रम भने छैन। ‘हामीले नियमित कार्यक्रम अन्तर्गत सिमलको रुख संरक्षण गरेर गिद्धको वासस्थान जोगाउने तथा पशुचौपायामा विषादीको प्रयोग कम गर्ने विषयमा जनचेतना फैलाउने काम गरिरहेका छौँ,’ तिवारीले भने,‘यस बाहेक हामीसँग पनि ठोस कार्यक्रम छैन।’
दुईवर्ष अघिसम्म सरकारले गिद्ध संरक्षणका लागि सानातिना कार्यक्रम बनाउने गरे पनि पछिल्लो समय त्यस्ता कायक्रम नहुँदा थप समस्या भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका प्राविधिक यादव बताउँछन्।
‘दुई वर्षअघिसम्म पशु सेवा कार्यालय मार्फत कार्यक्रम हुन्थे,’ उनले भने,‘तर, मुलुक संघीय संरचनामा गएपछि त्यस्ता कार्यक्रम बनेका छैनन्।’
स्थानीय तहले आफनो बजेटबाट गिद्ध संरक्षणका लागि कार्यक्रम बनाउनु पर्ने उनको सुझाव छ।
लामो चुच्चो, लामो घाँटी, भद्दा जिउडाल हुने गिद्दले जनवारको सिनो खाएर वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्दछ।
प्रकृतिलाई दुर्गन्धित र रोगमुक्त बनाउन गिद्धको भूमिका महत्वपूर्ण मानिन्छ। दक्षिण एसियामा पाइने ९ मध्ये नेपालमा ८ प्रजातिका गिद्ध पाइन्छन्।
नेपालमा एक वर्षअघि गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षणअनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको संख्या घट्दै गइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।