काठमाडौं– महानगरीय प्रहरी अपराध महाशाखाले दुई जना हुण्डी कारोबारीलाई ३५ लाख रुपैयाँसहित पक्राउ गरेको छ। काठमाडौं उपत्यकाभित्र गैरकानुनी रुपमा हुण्डीमार्फत बित्तीय कारोबार गर्दै आएका उनीहरुलाई महाशाखाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–७ घर भई ललितपुर सानेपा बस्ने ५५ वर्षीय भरतबहादुर बस्नेत र काठमाडौं नयाँबानेश्वरका ३८ वर्षीय सुनिल श्रेष्ठ छन्।
न्युरोड भुगोलपार्क अगाडिबाट बा७च २५६९ नम्बरको कारलाई शंका लागि चेक गर्दा कार चालक भरतबहादुर बस्नेतको निलो रङको झोलामा ३५ लाख रुपैयाँ फेला परेको थियो।
बस्नेतले सो रकम बिशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्स्चेन्जका सञ्चालक सुनिल श्रेष्ठलाई दिएका थिए। उक्त रकम हुण्डी कारोबारमा प्रयोग गरिएको थाहा पाएपछि प्रहरीले उनीहरु दुवैलाई पक्राउ गरेको जनाएको छ। दुवै जना राजश्व छलीमा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।