धनगढी– सिएमजी संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ। शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–० ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो।
धनगढी रंगशालामा भएको खेलमा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरिएको थियो। १८औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिएका थिए।
३८औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ गर्दै बचाए। पहिलो हाफको इन्जुरी समयमा संकटाले अग्रता लिएको हो। जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन्।
दोस्रो हाफको ६६औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपनि एलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाएका थिए। ८३औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे। इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथिबाट बाहिरिएपछि गोर्खा ब्वाइज खेलमा फर्किने सम्भावना टरेको थियो।
विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको प्रतिक्रिया दिए। गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए।
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ।
शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछन्। पहिलो क्वाटरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर खेल्नेछन्। संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।