लुम्बिनी– लुम्बिनीमा ‘बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्ट’ सुरु भएको छ।
नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले आयोजना गरिएको मार्टको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उद्घाटन गरेका हुन्।
पर्यटन मन्त्रालयको आयोजना, नेपाल पर्यटन बोर्डको सहकार्य तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले संयोजन गरेको मार्टमा १८ देशका १ सय ५० बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ।
मार्टमा ‘विजनेस टु विजनेस’ मिटिङसहित बुद्ध पर्यटन प्रवद्र्धनका विविध पक्षका सम्बन्धमा छलफल जारी छ।
मार्टको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले लुम्बिनीको पर्यटन प्रवर्द्धन र विकासका लागि सरकारले विशेष प्राथमिकता दिएको बताए।
उनले लुम्बिनीमा बढी भन्दा बढी पर्यटक भित्र्याउन भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको र लुम्बिनी गुरुयोजनालाई पूरा गर्न सरकारले विशेष ध्यान दिएको बताए।
उनले सन् २०१९ को सेप्टेम्बरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्ने तयारी सरकारले गरिरहेको बताए।
मन्त्री अधिकारीले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्रिने बताउँदै त्यसका लागि सरकारी तथा निजी क्षेत्रले विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहनु पर्नेमा जोड दिए।
नेपालको पर्यटक प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अहम् रहने उल्लेख गर्दै मन्त्री अधिकारीले निजी क्षेत्रलाई आवश्यक सहयोग र सहकार्यका लागि सरकार प्रतिवद्ध रहेको बताए।
नेपालको विकास र समृद्धिको आधार पर्यटन भएकाले सरकारले विमानस्थल निर्माणसहित पर्यटन प्रवर्द्धनका कार्यक्रम सरकारले अघि सारेको बताए।
उनले भने, ‘कहीँ अनियमितता र खराबी भएको भए कारबाहीको भागी हुन्छ। अब पर्यटनको विकास रोकिँदैन।’
उनले स्वदेशी र वाह्य लगानी भित्र्याउँदै लगानीको सुरक्षाको ग्यारेण्टी पनि सरकारले लिने बताए।
प्रदेश–५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले संघीय सरकारको पर्यटन प्रवद्र्धनलाई सहयोग पुर्याउन प्रदेश सरकारले २०७६ साललाई प्रदेश सरकारले पनि लुम्बिनी भ्रमण वर्षका रुपमा अघि सारेको बताए।
अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्टका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले भैरहवामा निर्माणाधीन विमानस्थलको पनि प्रचार प्रसारमा कार्यक्रमले सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
मार्टमा म्यानमार, थाइल्याण्ड, बंगलादेश, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत, माल्दिभ्स, श्रीलंका, भुटान, चीन लगायत गरी १७ वटा मुलुकबाट टूर अपरेटर, ब्लगरहरु, सम्बन्धित देशका सरकारी प्रतिनिधि सहभागी रहेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि यन पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।