काठमाडौं– सामाखुसीमा माइक्रो बसले जेब्राक्रसबाट बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। चार जना गम्भीर घाइते भएका छन्।
सोमबार मध्यान्ह रिङ रोड–जोरपाटी–थली चल्ने बा१ज ९७६६ नम्बरको माइक्रोले जेब्राक्रसबाट बाटो काट्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो। माइक्रोको ठक्करबाट धुम्बाराही बस्ने ५५ वर्षीया सीता दाहालको मृत्यु भएको हो।
अल नेपाल अस्पताल सामाखुसीमा उपचारको क्रममा उनको मृत्यु भएको सामाखुसीका सई सेजन कार्कीले नेपाल लाइभलाई जानकारी दिए।
माइक्रो बसको ठक्करबाट अन्य चार जनाको घाइते भएका छन्। घाइते हुनेमा खोटाङकी १९ वर्षीया सपना राई, कोटेश्वरकी ५० वर्षीया सरिता अधिकारी र उनका श्रीमान ५३ वर्षीय सुशील अधिकारी तथा धुम्बाराही बस्ने ५५ वर्षीया लक्ष्मी सापकोटा छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
तीव्र गतीमा रहेको माइक्रोले उनीहरुलाई जेब्राक्रसमै ठक्कर दिएको थियो। प्रहरीले माइक्रो चालक रामेछाप घर भई जोरपाटी बस्ने ४० वर्षीय टंकराज कार्की र गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
चालक कार्कीले ब्रेक फेल भएकाले दुर्घटना भएको बताएका छन्। तर चालकले भने जस्तो ब्रेक फेल नभएको, लापरबाही तरिकाले चलाएकाले दुर्घटना भएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।