काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको अनियमिताबारे आफ्नो स्पष्टीकरण दिएका छन्।
पर्यटन मन्त्रलायलमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले लेखा समितिको उपसमितिले अनुमान र पूर्वाग्रहको आधारमा आफ्नो नाम जोडेको आरोप लगाए। ‘विमान खरिद सम्झौता प्रक्रियामा मेरो कहीँ कतै र कुनै पनि किसिमको संलग्नता छैन, मैले यी जहाजहरुको अधिकत प्रयोगमा ल्याउने प्रयास मात्र गरेको छु,’ उनले भने, ‘ममाथि बदनियत भएको भनी लागेको आरोपमा सबै अख्तियारवाला निकायलाई छानबिन गर्न आग्रह गर्दछु।’
दोषी उम्कन नपाउने र निर्दोष बदनाम नहुने अवस्था हुनु हुँदैन भन्दै अधिकारीले यसमा जो सुकै संलग्न भएको भए कारबाही हुनुपर्ने बताए। ‘मैले विगतमा सबै समितिहरुमा यो कुरा भनेको छु। समितिको म सम्मान गर्छु,’ उनले भने, ‘तर बदनाम गर्ने कार्य मात्र नगरियोस्।’
मन्त्री अधिकारीले आफूले निगमलाई टाट पल्टने अवस्थाबाट जोगाएको समेत उनले दाबी गरे।
बहालवाल पर्यटनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई समेत कारबाही गर्न उपसमितिले सिफारिस गरेको थियो।
सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहरसहितको प्रतिवेदन लेखा समितिमा बुधबार पेस गरेको थियो।
के भने मन्त्री अधिकारीले?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।