जनकपुर– नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षीहरू वर्तमान सरकारको लोकप्रियता देखेर डराएको बताएका छन्।
नेकपाले आइतबार जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले विरोधीहरूले सरकारको काम नै देख्न नसकेर सरकारले अधिनायकवाद ल्याउन खोजेको आरोप लगाएको बताए।
उनले यस्ता दुष्प्रचारको पछि नलागी कार्यकर्ताहरूलाई दृढताकासाथ सरकारको बचाउ गर्न आह्वान गरे।
नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल कांग्रेसमा हतास र निरासाको प्रवृति बढेको भन्दै उनले भने, ‘वर्तमान सरकारको काममा केही कमी कमजोरी हुन सक्छ तर सरकारकारको नियतमा बेइमानी छैन।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले थप्दै भने, ‘हामीले प्रजातान्त्रिक आचरण अबलम्बन गरिसकेका छौँ, शेरबहादुरजीले सरकारले अधिनाकवाद ल्याउन खोज्दैछ भन्ने दुष्प्रचार गरिरहनुभएको छ। यसमा केही सत्यता छैन।’
त्यसैगरी नेता नेपालले दुई वर्षभित्र पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने तयारी रहेको बताउँदै उनले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी एकताको आवश्यक्ता रहेको धारणा व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।