डोल्पा– उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाबाट बहुमूल्य बौद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका चार जनालाई डोल्पा प्रहरीले आज सार्वजनिक गरेको छ।
सदरमुकाम दुनैदेखि उत्तरी सीमावर्ती क्षेत्रमा पर्ने उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाबाट बौद्धमूर्ति चोरीको आरोपमा सोही गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पो बुद्ध गाउँपालिका– १ बस्ने ४१ वर्षीय झ्याम्पा छुल्डिम लामा, वडा नं ३ का ४३ वर्षीय छिरिङ दावा गुरुङ र ४३ वर्षीया पासाङ लुण्डुप गुरुङलाई डोल्पा प्रहरीले सार्वजनिक गरेको हो।
पक्राउ परेका मध्ये झ्याम्पा छुल्डिम लामाबाट रु १ लाख र बौद्ध भाषामा लेखिएको आठ हरफको एक बौद्धलिपिसमेत केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको जिप्रका डोल्पाले जनाएको छ।
शे–फोक्सुण्डो गाउँपालिका–४ मा रहेको राहापगुम्बाबाट यसै वर्षको गत असोज ३१ गते ४२ थान प्राचीन बौद्धमूर्ति चोरी भएका थिए। सार्वजनिक गरिएका चारै जना उपल्लो डोल्पाका भएको प्रहरीले जनाएको छ।
स्थानीयले दिएको गोप्य सूचनाका आधारमा चोरीमा संलग्न उक्रेन पासाङ गुरुङलगायतका व्यक्ति काठमाडौं भएको थाहा भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको बौद्धबाट पक्राउ गरेर डोल्पा पुर्याइएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अबदेश विष्टले जानकारी दिए।
चोरी भएका बौद्ध मूर्ति कहाँ कसरी बिक्री गरिएको छ भन्नेबारे अनुसन्धान भइरहेकाले अहिले नै भन्न नमिल्नेसमेत विष्टले बताए।
प्रहरीले चोरीमा संलग्न व्यक्ति पक्राउ गरे पनि हराएका मूर्ति भने फेला पार्न सकेको छैन। उपल्लो डोल्पाका शे–गुम्बा, रे–गुम्बा, मिखिम गुम्बा, गाँकर गुम्बा, बोन गुम्बालगायतका दर्जनौं गुम्बाबाट प्रत्येक वर्ष मूर्ति चोरी हुँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।