काठमाडौं– नक्कली सुन कारोबारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
बुढानिलकण्ठ नगरपालिका–१२ कपन खरिबोट नजिक नक्कली सुनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सोलुखुम्बु घर भई काठमाडौं बस्ने ३५ वर्षीय टासी शेर्पा रहेको प्रहरी प्रभागका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले जानकारी दिए।
कुँवरका अनुसार निजको कोठामा जाँच गर्ने क्रममा लुकाइ छिपाइ राखेको अवस्थामा सुनजस्तो देखिने १ केजी पहेँलो धातु बरामद गरी आवश्यक अनुसन्धान गरिरहेको बताए।
शेर्पा २०५५ सालमा कर्तब्य ज्यान उद्योगमा १० वर्ष जेल बसी निस्केको र लामो समयदेखि नक्कली सुन कारोबारमा संलग्न भई गत साउनमा पनि पक्राउ परेका थिए।
निज टासी शेर्पाले फेसबुकमार्फत साथी बनाउने, विभिन्न समयमा नक्कली सुन देखाइ प्रलोभनमा पारेर पैसा लिने गरेको र आफ्नो 'सुन तथा माला पसल छ' भनि विभिन्न प्रलोभनमा पारि मानिसलाई ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
शेर्पाले हुम्ला जिल्लाको याल्बा घर भई सिमिकोटमा किराना पसल गरी बस्ने २७ वर्षीया किरण ग्याल्जेन लामाबाट रु ३ लाख ७० हजार ठगी गरेको पाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।