म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर शहरका दुवै क्लबलाई सफलता मिलेको छ। साविक विजेता म्यानचेस्टर सिटीले १० खेलाडीमा सीमित साउथह्याम्टनलाई ३–१ गोलले हरायो।
सिटीका लागि डेभिड सिल्भाले १०औं मिनेटमा पहिलो गोल गरे। सउथह्याम्टनका होबजर्भले ३७ मिनेटमा बराबरी गोल फर्काउन सफल भए।
साउथह्याम्टनका वार्ड प्रोसले ४५ मिनेटमा आफ्नै पोस्टमा गोल गर्दा सिटीको अग्रता २–१ मा पुग्यो। पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा सिटीका अग्युरोले तेस्रो गोल गरे।
८५ मिनेटमा साउथह्याम्टनका लागि गोल गरेका होबजर्भ रातो कार्ड पाउदै मैदान छाड्न बाध्य भएका थिए।
म्यानचेस्टर युनाइटेडले बर्नमाउथलाई ४–१ गोलले हरायो। युनाइटेडका लागि पाउल पोग्बाले ५ र ३३ मिनेटमा गरी २ गोल गरे। रास्फोडले ४५ मिनेटमा युनाइटेडका लागि तेस्रो गोल गरे। बर्नमाउथका एकेले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दा खेल ३–१ को अवस्थामा आयो।
युनाइटेडका लागि लुकाकुलेय ७२ मिनेटमा चौथो गोल गरे।
यता चेल्सीले क्रिस्टल प्यालेसलाई १–० ले हरायो। उसको जितमा एनगोलो कान्टेले ५१ मिनेटमा गोल गरे।
लिगमा २०औं चरणको खेल सकिदा शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता लिएको छ। लिभरपुलले ५४ अंक जोडेको छ भने दोस्रो स्थानको सिटीको ४७ अंक छ। टोटनह्याम ४५ अंकसहित तेस्रो र चेल्सी ४३ अंकसहित चौथो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।