काठमाडौं- अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी–२० क्रिकेटमा नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो दोस्रो खेलमा ३ विकेट लिएका छन् । मेलवर्न स्टार्सका बलर सन्दीपले होबर्ट हारिकान्सविरुद्ध सोमबार ३ विकेट लिएका हुन् ।
पहिले ब्याटिङ गरेको मेलवर्नले ५ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ४७ रन जोडे । १ सय ५६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको होबर्टविरुद्ध सन्दीपले ३ विकेट लिएका हुन् । सन्दीपले एलेक्स डोनाललाई २ रनमा बोल्ड गरे । यस्तै होबर्टका कप्तान म्याथ्यु वेडलाई सन्दीपले आफ्नो दोस्रो सिकार बनाए । वेडलाई सन्दीपले एडम जाम्पाको हातबाट क्याच गराएका थिए ।
सन्दीपले आफ्नो तेस्रो सिकार बेन म्याकडेरमोटलाई बनाए । बेनलाई सन्दीपले एलबिडब्लूको धरापमा पारेका थिए । सन्दीपले ३ विकेट लिएपनि मेलवर्न स्टार ६ विकेटले पराजित भयो । मेलवनले दिएको १ सय ५६ रनको लक्ष्य होबर्टले ४ विकेटको क्षतिमा १८.४ ओभरमा पार र्गयो ।
सन्दीपले बिबिएलको डेब्यू खेलमा सिड्नी थन्डरविरुद्ध २ विकेट लिँदै सानदार डेब्यू गरेका थिए। सो खेलमा पनि मेलवर्न पराजित भएको थियो । मेलवर्नले आफ्नो तेस्रो खेलमा आगामी बिहीबार सिड्नी सिक्सरविरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।