काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का र अलराउन्डर दीपेन्द्रसिंह ऐरी सोमबार साँझ अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन्। पारस र दीपेन्द्रसँगै यू–१९ टिमका पूर्व खेलाडी सुवास प्रधान पनि अस्ट्रेलिया प्रस्थान गर्न लागेका छन्।
एक्सपर्ट एजुकेशन र भिषा सर्भिसेजले अस्ट्रेलियाले आयोजना गर्ने एक्सपर्ट क्रिकेट फेस्टिबलमा सहभागी हुन उनीहरु त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
फेस्टिबल अस्ट्रेलियाका चार सहरमा आयोजना हुनेछ। मेलवर्नमा डिसेम्बर ३०, सिड्नीमा जनावरी ५ र ६, ब्रिसबेनमा जनावरी १० र एडिलेटमा जनावरी १२ मा क्रिकेट फेस्टिबल आयोजना हुँदैछ। जहाँ क्रिकेटको बारेमा अन्तरक्रिया हुने अस्ट्रेलिया उड्नुअघि कप्तान खड्काले बताए।
‘अस्ट्रेलिया टुर एउटा अन्तर्क्रिया भ्रमण जस्तो हो,’ उनले भने।
उनले क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध बढाउन पनि कुरा गर्ने बताए। ‘पछिल्लो सयम अस्ट्रेलियन क्रिकेटरसँग राम्रो सम्बन्ध छ। माइकल क्लार्कको थ्रु सन्दीप लामिछानेले ठूलो अवसर पाए। पिपिएलमा पनि हामीले निमन्त्रणा पठाएका थियौं। तर विभिन्न कारणले आउनु सक्नु भएन,’ उनले भने, ‘अब आफै जाँदै छु। त्यहाँ म उहाँसँग भेटेर क्रिकेट अस्ट्रेलियासँग सम्बन्ध बढाउन केन्द्रीत हुनेछु। यो भ्रमणको मुख्य उद्देश्य नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन हो।’
उनले अस्ट्रेलियाले क्रिकेटलाई माया गर्ने भएकाले कुरा गर्न सजिलो हुने पनि बताए।
‘अस्ट्रेलियाको राष्ट्रिय खेल क्रिकेट हो। उहाँहरुले क्रिकेटलाई एकदम मन पराउनु हुन्छ,’ पारसको भनाई छ, ‘कुनै पनि खालको सहयोग लिनका लागि क्रिकेट अस्ट्रेलिया र स्टेट बोर्डसँग सहयोगको विषयमा छलफल हुन्छ। अस्ट्रेलियामा रहेका नेपालीको सम्बन्ध सदुपयोग गरेर खेलाडीहरुलाई एक्पोजर दिन सक्यो भने उत्तम हुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।