काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न ललितपुर प्याट्रिओट्सले भैरहवा ग्लाडिएर्टरलाई १ सय ५६ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियू मैदान जारी फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर १९.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो।
ललितपुरका लागि ओपनर जयकिशन कोल्सावालाले अर्धशतक प्रहार गरे। उनले भैरहवाका कृष्ण कार्कीबाट बोल्ड हुनुअघि ५२ बलमा समान ३-३ चौका र छक्का प्रहार गरे। अर्का ओपनर गौरव तोमारले २३ रन जोडे। उनले १९ बलमा ३ चौका र १ छक्का हिर्काए। कोल्सावाला र तोमारबीच पहिलो विकेटका लागि ५.१ ओभरमा ४१ रनको साझेदारी भयो।
कप्तान ज्ञानेन्द्र मल्ल १० रनमा आउट हुँदा पवन सराफ ५ रनमा रनआउटको सिकार बने। सन्दीप जोराले ११ बलमा २४ रनको योगदान गरे। उनले १ चौका र २ छक्का हिर्काए।
सनी पटेल १ रन, कुलश भर्तेल ११ रन, सोनु तामाङ ३ रनमा आउट भए भने रासिद खान र ललितनारायण राजवंशीले खाता नै खोल्न सकेनन्।
बलिङमा भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए। उनले २ ओभर बलिङ गर्दा १५ रन खर्चिए। रायन टेन डोकास्टे र मोहमद नाबीदले २-२ विकेट लिए। शरद भेषवाकर र भुवन कार्कीको नाममा १-१ विकेट रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।