काठमाडौं- अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) अन्तर्गत नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्स पहिलो खेलमा पराजित भएको छ।
शुक्रबार भएको खेलमा मेलवर्नलाई सिड्नी थन्डरले डिएल मेथडमा १५ रनले पराजित गरेको हो।
सिड्नीले दिएको ९० रनको लक्ष्य पछ्याएको मेलवर्नले ६ विकेटको क्षतिमा ७४ रन मात्र जोड्न सक्यो। वर्षाले प्रभावित खेलमा मेलवर्नलाई ८ ओभरमा ९० रनको लक्ष्य दिइएको थियो। ४८ बलमा ९० रन बनाउनु पर्ने मेलवर्न सुरुवातमै दबाबमा आउदा लगातार विकेट गुमायो। मेलवर्नका सुरुवाती ४ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। मेलवर्नका लागि लार्किनले नटआउट २८ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। सन्दीप लामिछानेले ब्याटिङको अवसर पाएनन्।
त्यसअघि सिड्नीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन जोडेको थियो। उसका लागि जासोन सांघाले नटआउट ६३ रन जोडे। बलिङमा सन्दीप लामिछाने र एडम जाम्पाले २-२ विकेट लिए। सिड्नीले ब्याटिङ गरे लगत्तै बर्षा भएपछि मेलवर्नका लागि ८ ओभरमा ९० रनको लक्ष्य दिइएको हो।
सन्दीपले सानदार डेब्यू गर्ने क्रममा पहिलो ओभरमै २ विकेट लिएका थिए।
सन्दीपले सिड्नी थन्डरका कप्तान सेन वाट्सन र फर्ग्युसनलाई आउट गरेका थिए। उनले पहिलो ओभरमा ३ रनमा मात्र खर्चिदा २ विकेट लिएका थिए।
मेलवर्नका कप्तान ग्लेन म्याक्सवेलले सन्दीपलाई आठौं ओभरमा बल थमाएका थिए। सन्दीपको दोस्रो बलमा सेन वाट्सनलाई आउट गरे। वाट्सनलाई २२ रन बनाएर खेलेका लार्किनले बाउन्ड्रीमा क्याच गरे। ओभरको अन्तिम बेलमा सन्दीपले कालुम फर्ग्युसनलाई आफ्नो सिकार बनाए। १५ रन बनाएर खेलिरहेको अवस्थामा फर्ग्युसनलाई सन्दीपले आफैले क्याच गरेका थिए।
बाँकी३ ओभरमा भने सन्दीपले विकेट लिएन सकेनन्।
दशौं ओभर पनि बलङ गरेको सन्दीपले यो ओभर भने १ चौका खादा ६ रन खर्चिए। १२औ ओभरमा १३ रन खर्चिएका सन्दीपले १४ औ ओभरमा १४ रन दिए। उनले ४ ओभर बलिङ गर्दै २ विकेट लिँदा ३६ रन खर्चिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।