काठमाडौं- सहिद स्मारक 'ए' डिभिजन लिगमा शुक्रबार पुछारका ३ क्लबले जित हात पारेका छन्।
दिनको पहिलो खेलमा मच्छिन्द्र क्लबले लिगमा पहिलो जित निकाल्ने क्रममा सरस्वती युवा क्लबमाथि ४-२ गोलको जित हात पारेको थियो।
यस्तै अंक तालिकाको पुछारमा रहेको न्युरोड टिम एनआरटीले पनि लिगमा पहिलो जित हात पारेको छ। एनआरटीले जावलाखेल युथ क्लबमाथि २-१ गोलको जित हात पारेको छ। पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग २-२ गोलको बराबरी खेलपछि एनआरटी लगातार ८ खेलमा पराजित भएको थियो।
खेलको ३४ मिनेटमा एनआरटीका काउसी जिनले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। ५७ मिनेटमा सुशील लामाले एनआरटीको अग्रता दोब्बर पारेका थिए। उनले केन्द्र भागबाट हानेको प्रहारलाई जावलाखेलका युथ क्लबले कुनै मौका पाएनन्। लगत्तै जावलाखेलका सुमन डंगोलले गोल फर्काएका थिए।
यता फ्रेण्ड्स क्लबले पनि दोस्रो जित निकाल्ने क्रममा हिमालयन शेर्पा क्लबलाई २-१ ले हरायो। फ्रेण्ड्सका लागि जीवन गुरुङले ८८ मिनेटमा निर्णायक गोल गरेका थिए।
त्यसअघि शेर्पाका गोवा प्याट्रिकले २७ औं मिनेटमा गोल गरेर आफ्नो टिमलाई पहिले अग्रता दिलाएक थिए। एक मिनेट पछि फ्रेण्ड्सका सन्जोग महर्जनले बराबरी गोल फर्काउन सफल भएका थिए।
अंक तालिकामा एनआरटी १० खेलबाट ४ अंक जोड्दै पुछारमा छ। मच्छिन्द्रले पहिलो जित हात पारेसँगै ६ अंक जोडेको छ भने १२औं स्थानमा उक्लिएको छ। फ्रेण्ड्स क्लब पनि दोस्रो जितसँगै ८ अंक जोडेर ११औं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।