राजविराज– स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकमबाट दमकल खरिद गर्ने निर्णय भएपछि सप्तरीको पुर्वउत्तर क्षेत्रका जनता उत्साहित भएका छन्।
सप्तरी निर्वाचन क्षेत्र नं. १ का सांसद डा. सूर्यनाथ यादवको संयोजकत्वमा बसेको बजेट बाँडफाँड निर्देशक समितिको बैठकले कञ्चनरुप नगरपालिकाका लागि दमकल खरिद गर्ने निर्णय गरेको हो।
बैठकले दमकल खरिदका लागि ७० लाख रुपैयाँ छुट्याएको छ। सामान्य असावधानी र मौसमअनुसार सचेत हुन नसक्दा सप्तरीमा हरेक वर्ष आगलागीका घटना दोहोरिने गरेका छन्।
लामखुट्टे धपाउन बालेको घुर, ग्यास, विद्युत लगायतका कारण आगलागी हुने गरे पनि अधिकांश घटना हावाहुरीका बेला असावधानीपूर्ण आगोको प्रयोगले हुने गरेको पाइएको छ।
सीमित दमकलका कारण आगलागीपछि समयमा नियन्त्रणको पहल हुन नसक्दा सप्तरीवासीले हरेक वर्ष करोडौंको क्षति व्यहोर्दै आएका छन्।
राजविराज नगरपालिकाको एउटै मात्र वारुण यन्त्रले सेवा दिन नसक्ने भएपछि केही समयअघि हनुमाननगर कंकालिनी र शम्भुनाथ नगरपालिकाकाले दमकल खरिद गरेका छन्।
तर, १८ वटा स्थानीय तह (साविक १ सय १४ गाविस) र आगलागीको श्रृंखलावद्ध घटनाका कारण ३ वटा दमकललाई पनि भ्याइ नभ्याइ हुने गरेको छ।
यस्तो अवस्थामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट दमकल खरिद गर्ने निर्णय सराहनीय काम भएको स्थानीवासी बताउँछन्।
कञ्चनरुप नगरपालिकामा दमकल आएपछि सप्तकोसी र कञ्चनरुप नगरपालिकाका साथै महदेवा, तिरहुत, अग्नीसाइर कृष्णासवरण गाउँपालिका लगायतका जनतालाई सुविधा पुग्ने छ।
यसबाहेक, कञ्चनरुप नगरपालिकामा छठको घाट निर्माणका लागि १५ लाख, कभर्ड हल निर्माणका लागि २० लाख, बाँध निर्माणका लागि २० लाख र नन्दराज संग्रौला डिग्री क्याम्पसको भवन निर्माणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ।
बैठकले क्षेत्र नं. १को सप्तकोसी नगरपालिकाका लागि ५५ लाख, कञ्चनरुप नगरपालिकाका लागि १ करोड ५० लाख, हनुमाननगर कंकालिनी नगरपालिकाका लागि ६५ लाख, तिरहुत गाउँपालिकाका लागि ७० लाख र अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका लागि विद्युतिकरणका लागि ६० लाख रुपैयाँ बजेट बाँडफाँड गरेको छ।
क्षेत्र नं. २ को रकमबाट नर्सिङ कलेल
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नं. २ को रकमबाट नर्सिङ कलेजको भवन निर्माण गरिने भएको छ।
निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा बसेको बजेट बाँडफाँड निर्देशक समिति बैठकले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र नर्सिङ कलेजको भवन निर्माण गर्ने निर्णय गरेको हो।
क्षेत्र नं. ३ को रकम बाटोमा माटो र ग्राभेल भर्नेमै केन्द्रित
निर्वाचन क्षेत्र नं. ३ को अधिकांश रकम बाटो ग्राभेल र कल्भर्ट निर्माणमा केन्द्रित छ।
सांसद चन्द्रकान्त चौधरीको संयोजकत्वमा बसेको बजेट बाँडफाँड निर्देशक समिति बैठकले विष्णुपुर गाउँपालिकामा ६० लाखका ४ योजना, डाकनेश्वरी नगरपालिकामा १ करोड ९० लाखका ५, शम्भुनाथ नगरपालिकामा ५० लाखका ४, रुप्नी गाउँपालिकामा ५० लाखका ३ र राजगढ गाउँपालिकामा ५० लाखका ४ योजना छनोट गरेको छ।
जसमध्ये विष्णुपुर गाउँपालिका ३ मा सामुदायिक भवन निर्माणका लागि १० लाख, डाकनेश्वरी नगरपालिकामा खानेपानीका लागि ट्युवेल खरिद, प्लेटफार्म निर्माण तथा जडानका लागि ५० लाख, शम्भुनाथ नगरपालिका ६ मा सन्यासी खोलामा सुलिसगेट निर्माणका लागि १० लाख गरी ७० लाख बाहेक कुल ३ करोड ३० लाख रुपैयाँ माटो तथा ग्राभेल भर्ने काममा खर्च गरिने छ।
क्षेत्र नं. ४ मा वर्थिङ सेण्टर र विद्युतिकरणका लागि बजेट
सप्तरीको निर्वाचन क्षेत्र नं. ४ को बजेट मध्ये खडक नगरपालिकाको पंसेरामा विद्युतिकरणका लागि २० र बोदेवरसाइन नगरपालिकाको काचनस्थित स्वास्थ्य चौकीमा वर्थिङ सेण्टर निर्माणका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।
सांसद तेजुलाल चौधरीको संयोजकत्वमा बसेको बैठकले वलान बिहुल गाउँपालिका, खडक नगरपालिका, सरुङ्गा नगरपालिका र बोदेवरसाइन गरी ४ ओटै स्थानीय तहमा १÷१ करोड खर्च गर्ने निर्णय गरेको छ।
हरेक स्थानीय तहमा बाटो मर्मत, ग्राभेल, धर्मशाला निर्माण लगायतका ५÷५ ओटा योजना सञ्चालन हुनेछन्।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका योजना कात्तिकमसान्त भित्रै सम्पन्न गर्नुपर्ने प्रावधान भए पनि सप्तरीमा भने केही ढिलो गरी सम्पन्न भएको जिल्ला समन्वय समिति सप्तरीले जनाएको छ।
प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसदको संयोजकत्वमा रहने समितिमा संघीय सांसद, प्रदेश सांसद र स्थानीय तहका प्रमुख सदस्य र जिल्ला समन्वय समितिका संयोजक सदस्य सचिव रहने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।