काठमाडौं– सहिद स्मारक 'ए' डिभिजन लिगका सुरुवाती ८ खेल मच्छिन्द्रका लागि बिर्सनलायक थियो। उसले ८ खेलमा गोल गर्न सकेको थिएन। ८ खेल मध्ये ५ खेलमा हार बेहोरेको मच्छिन्द्रले खेलेका ३ बराबरी पनि गोलरहित थियो।
नवौं चरणमा गोलको खडेरी समाप्त पार्ने क्रममा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपिएफविरुद्ध गोल गर्यो। यद्यपी सो खेलमा मच्छिन्द्र ३–१ गोलले पराजित भएको थियो।
दशौं खेलमा भने मच्छिन्द्र जित निकाल्न सफल भएको छ। शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सरस्वती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै जितको स्वाद चाखेको हो।
शुक्रबार भएको खेलमा अग्रता भने सरस्वतीले लियो। चौथो मिनेटमा मच्छिन्द्रका संजय राजबाहकले आफ्नै पोस्टमा गोल गर्दै सरस्वती १–० ले अघि रह्यो। १६औं मिनेटमा मच्छिन्द्रले बराबरी गोल फर्काउन सफल भयो। भासाडियाको पासमा विशाल राईले बराबरी गोल फर्काएका हुन्।
२०औं मिनेटमा मच्छिन्द्रले अग्रता लियो। उसका लागि भासाडियाले गोल गरे।
५ मिनेटपछि मच्छिन्द्रले तेस्रो गोल गर्यो। अनिल गुरुङले गोल गर्दा खेल ३–१ को अवस्थामा आएको थियो।
३६ मिनेटमा खेलमा पाँचौ गोल भयो। यसपटक सरस्वतीका फ्रान्सिस ओन्यामाले गोल गर्दा खेलमा खेल ३–२ को अवस्थामा आएको थियो।
पहिलो हाफमा पाँच गोल भएको खेलको दोस्रो हाफमा दुवै टिम फिनिसिङमा चुके। ६ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा विशाल राईले व्यक्तिग दोस्रो गोल गर्दा मच्छिन्द्रले ४–२ को जित निकाल्न सफल भयो।
लिगमा मच्छिन्द्र १० खेलबाट ६ अंक जोड्दै एघारौं स्थानमा उक्लिएको छ। सरस्वती भने १० खेलबाट १० अंक जोड्दै नवौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।