काठमाडौं– कैलालीको लम्किचुहा नगरपालिका–६, चैनपुरका महिलाहरू छाउपडी गोठ भत्काउन अग्रसर भएका छन्।
पछिल्लो २ वर्षमा महिला जागरण केन्द्र, नेपाल नामक संस्थाको अगुवाइमा महिलाहरुले छाउगोठ भत्काउन सुरु गरेको स्थानीय सिर्जना विकले बताइन्।
गत मंगलबार चैनपुरमा भएको एउटा कार्यक्रममा लम्किचुहा नगरपालिका प्रमुख महादेव बजगाईंले छाउगोठ भत्काउने व्यक्तिलाई पुरस्कार र सम्मान गर्ने घोषणा गरेका थिए।
केन्द्रकै अगुवाइ तथा आफ्ना सासु, ससुरा र श्रीमानको सहयोगमा सिर्जनाले पनि आफ्नो घरमा रहेको छाउगोठ भत्काएको बताइन्। उनले भनिन्, ‘यो गाउँका धेरै महिला मेरै घरमा बनेको छाउगोठमा बस्दै आएका थिए।’
सिर्जनाका ४३ वर्षीया सासु धनसराका अनुसार बुहारीले पहिलेदेखि नै छाउगोठमा बस्नु नहुने बताउँदै आएको सुनाइन्। ‘हामीले त्यतिबेला बुहारीको कुरा सुनेनौं, अहिले मेयरसहित सबैले छाउगोठमा बस्नु अपराध हुने बताएपछि भत्कायौं’, उनले भनिन्।
सिर्जनाकी छिमेकी संगीताले पनि महिनावारी भएको बेला आफू पनि सिर्जनाको घरको छाउगोठमा बस्ने गरेको बताइन्। ‘हामीले सल्लाह गरेर गोठ भत्काएको हौं’, संगीताले भनिन्। उनले अबदेखि महिनावारी भएको बेला आफू पनि आफ्नै घरमा बस्ने दृढता व्यक्त गरिन्। संगीताका श्रीमान वैदेशिक रोजगारीमा गएका छन्।
त्यस्तै, २७ वर्षीया चन्द्रा विकले पनि अबदेखि आफू पनि छाउगोठमा नबस्ने बताइन्।
महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिस्ना कुमारी बिसीले दुई वर्षदेखि ६० वटा छाउगोठ भत्काइसकेको जानकारी दिइन्। अध्यक्ष बिस्नाले भनिन्, ‘यो गाउँमा छाउगोठ भत्काउने पहिलो महिला पद्मा विक हुन्, त्यसपछि ६० वटा छाउगोठ भत्काइसकेका छौं।’
उनले छाउपडी प्रथाको पूर्ण अन्त्यका लागि व्यापक जनचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने औंल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।