नेपाली क्रिकेटका सुपरस्टार हुन्, सन्दीप लामिछाने। सुपरस्टार पदवी मैले होइन, अस्ट्रेलियाका धुरन्धर खेलाडी एवं मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले दिएका हुन्।
१८ वर्षकै उमेरमा सन्दीपले जुन उचाइ लिएका छन्, धेरैका लागि कल्पनाबाहिरको कुरा हो। अनेकौं वर्ष खर्चिएर पनि उचाइ छुन हम्मेहम्मे परेकाहरुका लागि लागि सन्दीप टुप्पाबाट पलाएका पात्र नै होलान्। तर, सन्दीपले सानै उमेरदेखि बल समातेर कडा मेहनत गर्न थालेको इतिहास, वर्तमानबारे सबैलाई ज्ञानै हुनैपर्छ। उनीमाथि आवेगात्मक भाषा सह्य हुनेछैन।
एउटा बालक जो घन्टौं समय लगाएर, हिँडेर, कुदेर मैदान पुग्थ्यो। भविष्य छैन भनेर पलायन हुने घटनाको साक्षी बसेका थिए ती बालक। हिम्मत नहर्ने तिनै बालकले आफूलाई गुमनामबाट सुनाम सन्दीप लामिछाने भनेर संसारभर उभ्याइरहेका छन्।
आफ्नो नाम मात्रै होइन, १८ वर्षीय ठिटोले काँधमा सिंगो देश पनि बोकेर हिँडिरहेका छन्| उनकै कारण संसारभरका क्रिकेट फ्यानले नेपाल र नेपालीबारे चासो दिन थालेका छन्। क्रिकेटवृत्तमा स्टार छवि बनाइँरहदा उनले आफ्नो होइन देशको इज्जत बढाइरहेका छन्।
मान्छेका अनेक स्वभाव हुन्छन्। समयसीमा हुन्छ। आफ्नो छनोट र इच्छा हुन्छ। आफ्नै निजी बुझाइ र व्याख्या हुन्छन्। सन्दीप पनि मान्छे नै हुन्। त्यसलै यसबाट उनी पनि टाढा रहन सक्दैनन्। सन्दीप जे छन्, आफ्नै बलबुतामा छन्।
सन्दीप राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय स्टार हुन्। घरको बार्दली/छतबाट हात हल्लाएर जनतालाई अभिवादन गर्ने त्यो उचाइमा छन्, उचाइमा रहनेछन्। तर मलाई अनौठो के लाग्छ भने उनले स्टार छवि, प्रस्तुति देखाएकै छैनन्। जनताबीच खुल्ला रहने उनको नेपाली मन यथावत् छ।
तर सन्दीपलाई विवादमा ल्याउने प्रपञ्च हुँदै गइरहेको भान भइरहेको छ। सन्दीपलाई नियन्त्रण गर्न चाहने कुनै 'गिरोह' नै सक्रिय भइरहेको त छैन? प्रश्न उब्जिन्छ। पोखरामा सन्दीप जसरी प्रस्तुत भए भनेर कुप्रचार गरियो, भिडियो हेर्दा प्रस्ट हुन्छ, त्यो घटनामा उनले प्रतिवाद गरेका हुन्। र, मैदानबाहिर यो आम नागरिकले अभ्यास गर्न पाउने अधिकार हो। नाडी नै मुसारेर लड्न खोजेका त होइनन् नि।
त्यस्तै अस्ट्रेलियाको मेलवर्नमा भएको नेपाल फेस्टिबलका सन्दर्भमा पनि उनलाई विवादमा ल्याउन खोजियो। नेप्लिज एसोसियसन अफ भिक्टोरियाको एक अमूक समूहले सन्दीप 'घमन्डी' भनेर होहल्ला मच्चाए। यसले एक समूहले सन्दीपमाथि शक्ति प्रदर्शन गर्न खोजेको ठहर्छ। यस्ता खाले शक्ति प्रदर्शनले उल्टै यस्तो संस्थाको शक्ति घट्दै जाने निश्चित छ। यस संस्थाको खारेजीका लागि भिक्टोरिया सरकारलाई पत्रचार गर्ने कुरा पनि आम नेपाली क्रिकेट समर्थकबीच उठिरहेका छन्। सन्दीपले यस आरोप निराधार रहेको पनि बताइसकेका छन्।
सन्दीप संवेदनशील पात्र हुन् देशका। उनका कुरा प्रसारण गर्न नेपाली मिडियाहरु पनि संवेदनशील हुनुपर्ने देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।