बार्सिलोना– स्पेनबाट क्याटलोनिया क्षेत्रलाई छुट्टाउन अभियान चलाएको अभियोगमा जेल सजाय भोगिरहेका ४ क्याटलान नेताले विगत दुई हप्तादेखि जारी राखेको भोक हडताल अन्त्य गरेका उनीहरूका प्रवक्ताले जनाएका छन्।
क्याटलोनियाको पूर्व सरकार प्रमुख कार्लोस पुज्डमोन नेतृत्वको सरकारका प्रवक्ता जोर्डी साञ्चेज र उनका सहकर्मी नेताहरू जोर्डी टुरूल, जोसेफ रूल र जाकियम फोर्नले बार्सिलोनाको उत्तरी क्षेत्र लेडोनर्समा रहेको जेलमा नै भोक हडतालको घोषणा गरी डिसेम्बरको सुरूदेखि थालेको आन्दोलनलाई बिहीबारदेखि अन्त्य गरेका उनीहरूका प्रवक्ताले बताए।
भोक हडतालको अन्त्य गर्ने नेताहरूले संवैधानिक अदालतले जेलमा रहेका नेताहरूको मुद्दामाथि सुनुवाइ गर्न तयार देखिएकोले आन्दोलन रोकिएको प्रवक्ताले बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
उनीहरूलाई देशद्रोहको अभियोगमा गत वर्षदेखि जेलमा राखिँदै आएको छ। उनीहरूमाथि स्रोत र साधनले सम्पन्न स्पेनको उत्तरपश्चिमी राज्य क्याटलोनियालाई स्पेनबाट टुक्राउने अभियानस्वरूप जनमतसङ्ग्रह र संसदमा क्याटलोनिया स्वतन्त्र भएको घोषणाको नेतृत्व गरेको अभियोग लगाइएको छ।
उनीहरूले आफूहरूको मुद्दा विचाराधीन राखेर थुनामा राखिरहेको दाबी गर्दै आफ्ना वकिलमार्फत सुनुवाई अघि बढाउन निवेदन दर्ता गर्न खोज्दा स्पेनी संवैधानिक अदालतले रोकेपछि भोक हडताल सुरू गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।