मस्को– पश्चिमा मुलुकहरूले मस्कोमाथि जासुसी प्रकरणको मुद्दा उठाएर रूसको अन्तर्राष्ट्रिय सम्बन्धमा फाटो पार्न खोजिएको रूसले दाबी गरेको छ।
'रूसको विकासमा समस्या ल्याउने विचारबाट उद्दत भएको जासुसी प्रकरण रूसमाथिको आक्रमणको अर्को नमूना हो,' राष्ट्रपति भ्लादिमिर पुटिनले वार्षिक कार्यक्रम अनुसार बिहीबार पत्रकार सम्मेलनमा बताए।
पुटिनले गुप्तचरको ‘दोहोरो भूमिका खेलेका’ पूर्व गुप्तचर अधिकारी सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई सालिसबरीमा विष दिएको घटनामा बेलायतले रूसलाई दोषी देखाउन खोज्नु सरासर रूसमाथिको रणनीतिक आक्रमण भएको बताएका छन्।
बेलायतले स्क्रिपाल द्वयलाई विष दिने दुई शङ्कास्पद व्यक्ति रूसी सैनिक गुप्तचरका एजेन्ट भएको भन्दै रूससँगको कूटनीतिक सम्बन्धमा समस्या भएको जनाएको थियो।
बदलामा कतिपय यूरोपेली मुलुकहरू, बेलायत र अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको थियो।
उनले भने, 'यदि स्क्रिपालहरू हुँदैनथे भने अन्य केही सोचिने थियो होला। यहाँ एउटै लक्ष्य रूसको विकासलाई पछि पार्ने र सम्भावित प्रतिस्पर्धीका रूपमा उठ्न नदिने खेल खेल्नुमात्रै रहेको छ।'
पुटिनले पत्रकार सम्मेलनमा रूसी मारिया बुटिनालाई अमेरिकामा गत हप्ता गैरकानूनी विदेशी एजेन्टको आरोपमा दोषी ठहर गरेको भनी अमेरिकाको आलोचना गरे।
बुटिनालाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको हस्तक्षेपमा संलग्नता रहेको बताइँदै आएको थियो।
बन्दूक अधिकारका समर्थक बुटिनाले आफूमाथि लागेको आरोप गलत भएको भन्दै उक्त प्रकरणमा आफू दोषी नरहेको बताएका छन्। उनीमाथि अमेरिकी विदेशी नीतिलाई प्रभावित तुल्याउन खोजेको आरोपमा कम्तिमा छ महिना जेल र देश निकालाको सजाय भएको छ।
पुटिनले भने, 'मैले बुझेको छैन, सरकारको कुनै जिम्मेवारी नलिएकी उनले के गल्ती स्वीकार गर्नेछन्। उनले जे स्वीकार गरेपनि १०–१५ वर्षको जेल सजायको धम्कीका कारण आएको अभिव्यक्ति हो।'
पश्चिमा मुलुकले रूसमाथि लगाएको प्रतिबन्ध रूसको अन्तर्राष्ट्रियस्तरमा बढेको प्रभावका कारण आवेगमा आएका निर्णय भएको पुटिनको दाबी थियो। 'यो रूसको शक्ति विकाससँग जोडिएको छ,' उनले थपे, 'एउटा शक्तिशाली खेलाडीलाई सबैले विश्वास गर्नैपर्छ। अहिलेसम्म रूस जति कमजोर सोचिन्छ त्यो भन्दा कैयौँ गुणा शक्तिशाली छ।'
'रूसको अर्थतन्त्रमा ‘अनुकुलित’ छ त्यसैले कतिपय दृष्टिकोणबाट हेर्दा प्रतिबन्ध सकारात्मक छ। उनले भने, 'प्रतिबन्ध लगाएर रूसलाई सङ्कटमा पार्न गरेको पश्चिमा मुलुकको कुदिृष्टिका कारण रूसले आफ्नो कृषिलाई सुधार गर्न बाध्य भयो। यसले रूसको कृषिमा व्यापक विस्तार ल्याइदिएकोे छ। यो हाम्रो लागि सकारात्मक कुरा हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।