काठमाडौं- राज्यकै संग्लनतामा वैदेशिक रोजगारीका नाममा मानव तस्करी भइरहेको एक कार्यक्रमका वत्ताहरूले बताएका छन्। राजधानीमा बिहिबार महिला तथा बालबालिका बेचविखनविरुद्ध काम गर्दै आएको संस्था एटबिनले आयोजन गरेको सञ्चारकर्मीसँग संवाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले श्रम कार्यालय, अध्यागमन विभाग र विदेशमा रहेका कूटनीतिक नियोगको सहयोगमा रोजगारीका नाममा मानव तस्करी भइरहेको उनीहरूले बताएका हुन्।
वैदेशिक रोजगारीलाई माध्यम बनाएर मानव तस्करले नेपाली युवायुवातीलाई भारत हुँदै खाडीका देश, मलेसिया र अफ्रिका पुर्याएर अलपत्र पार्ने र जबर्जस्ती देह व्यापारमा संग्लन गराउने गरेको उनीहरूको भनाइ छ।
'पहिला फकाएर मानव तस्करी हुन्थ्यो। अहिले रोजगारीका नाममा खुलेआम मानव तस्करी भइरहेको छ,' एटबिनकी अध्यक्ष अन्जना शाक्यले बताइन्।
उनका अनुसार रोजगारीका नाममा वैधानिक ढंगले मानव तस्करी भइरहेको छ। सरकारबाट श्रम स्वीकृति लिएर गएका कतिपय कामदार खाडीलगायतका रोजगारदाता मुलुकमा मानव तस्करका पञ्जामा पर्ने गरेका छन्।
स्वदेशमै रोजगारीका अवसर पाइरहेका कतिपय नेपाली युवा धेरै कमाउने लोभमा तस्करको फन्दामा पर्ने गरेको शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दुनुवारले बताइन्। 'रोजगारीमा नाममा विदेश जाने क्रममा धेरै युवा रोजगारदाता देशमा र बाटोमै अलपत्र पर्ने क्रम बढिरहेको छ। यो विषयमा सरकारले चासो दिएर काम गर्नुपर्छ,' उनको भनाइ छ।
यस्तै पत्रकार विजय पौडलले रोजगारीका नाममा भइरहेको मानव तस्करी साझा समस्या भएकाले सबैले मिलेर समाधानको उपाय खोज्नुपर्ने बताए। वैदेशिक रोजगारीको खोजीका क्रममा नेपाली विदेशमा अलपत्र, समस्यामा पर्दा उद्धार गर्ने नीति कानुनमै प्रष्ट बनाउनुपर्ने उनको भनाइ थियो।
एटबिनले २०७५ सालभर विभिन्न पत्रिकामा आएका समाचारका आधारमा अध्ययन गरी मानव बेचबिखन, बालबालिका तस्करी र रोजगारमा नाममा भइरहेको मानव तस्करीलगायतका विषयमा उठान गरेको छ। यो वर्ष आएका ५ सय ७२ वटा समाचारलाई समावेश गरिएको छ।
एटबिनभित्र महिला तथा बालबालिका बेचबिखन विरुद्ध काम गर्ने ४५ वटा संस्था संग्लन छन्। एटबिनले बालबालिका बेचविखनविरुद्ध काम गदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।