काठमाडौं– पछिल्लो समय चर्चामा रहेकी गायिका मेलिना राईले पहिलोपटक कौडा गीतमा आवाज दिएकी छिन्।
पूर्वेली लोकगीत, चलचित्रका गीत तथा आधुनिक गीतमा आवाज मिसाइसकेकी गायिका राईले पहिलोपटक पश्चिमी कौडा भाकामा स्वर दिएकी हुन्।
कौडा भाका गुरुङ र मगर समूदायमा लोकप्रिय मानिन्छ। कौडा गीत ‘गोरखा डाँडा शितलु’मा अविनाश थापा, रजनी मगर र गणेश गुरुङले पनि गायिका राईलाई स्वरमा साथ दिएका छन्। गीत ‘कौडा किङ’का रुपमा चिनिँदै आएका गायक गणेश गुरुङको लय तथा अविनाश थापाको शब्दमा तयार भएको हो।
उक्त कौडा गीत गुरुङ जाति र मगर जातिबीचको मायाप्रेममा केन्द्रित रहेको छ।
गीतको म्युजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन्। राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन्। भिडियोमा सन्तोष थापा मगर, मनोज थापा मगर, लिला थापा मगर, लक्ष्मी गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, बबिता गुरुङको अभिनय तथा नृत्य देख्न सकिन्छ।
भिडियाे:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।