नयाँ दिल्ली– प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोस्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक वर्षको जेल सजाय तोकेको छ।
सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन्।
गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घन (डार्कोनियन ल) सजायअन्तर्गत एक वर्षको जेल सजाय तोकिएको हो। उक्त कानूनी प्रावधानअनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुव्र्यवहार वा गालीगलौज गरेमा अदालती सुनुवाइबिना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ।
३९ वर्षीय टेलिभिजन पत्रकार वाङखेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृष्यचित्रलाई सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ। पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकार हिन्दू धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गालीगलोज गरेको भिडियो पोस्ट गरेका बताइएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दूवादी राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस)को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेका छन्।
अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृतिलाई रोक्ने उद्देश्यले भएको जनाएका छन्।
उनलाई यस पहिले राजद्रोह गरेको आरोपमा पक्राउ गरेपनि स्थानीय अदालतको आदेशपछि रिहा भएका थिए। एउटा गल्ती गरेर धरौटीमा रिहा भएपछि यसबाट उनी थप उत्तेजित बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
भारतमा गत महिना एक जना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि आसाममा उनलाई पक्राउ गरिएको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।