फूल र बत्तीहरूले टोल र बस्तीले काँचुली फेर्ने तिहार पर्व ! दियो, मैनबत्ती र रंगीन बत्तीमा खुसीको उज्यालो खोज्ने मानिसहरू।
तिहार आयो कि त ज्यानमा अनौठो रोमाञ्चकता सञ्चार हुन्छ । जब पढाइ र संघर्षको तराजुमा जोखिन जिल्ला छोडेर राजधानी छिरियो, सबै कुरा छरिँदै गयो, त्यसमा रमाइला चाडपर्व पनि परे । जति उमेरको सिँढी उक्लिँदै गइन्छ, त्यति नै बाल र किशोर बेलाका लहड, रहर र निश्फिक्री पाराको मोल करोड र अर्बको मोलमा बढ्दै जान्छ।
तिहारमा देउसी-भैली खेलेर रातै छर्लंग पारेको पुराना दिनहरू सम्झिँदा कुन ऊर्जाले त्यो सबै गरियो होला भन्ने लाग्छ । अहिले सम्झिँदा त सपना जस्तै ती दिनहरू।
गाउँघरमा केटाहरूको नाम लिँदा गणनाको सुरुवाती सूचीमै परिन्थ्यो ! जब-जब तिहार आउने बेला हुन्थ्यो, ती केटालाई देउसीको रिहर्सलले ज्वरो छुट्थ्यो । जब देउसी खेल्ने दिन आइपुग्थ्यो, घरबाट निस्किन बा-आमालाई मनाउँदाको सास्ती हुन्थ्यो । खरी झरेको धोद्रो मादल ठटाउँदै, प्वाल परेको डफली ठोक्दै घर-घर चहार्दा हामी रातारात गायक र संगीतकार भइसकेका हुन्थ्यौं!
'देउसी रे' भाका भट्याउनुका साथै आफ्नो मौलिक सिर्जित गीत सुनाउँदै रातभर सांस्कृतिक भ्रमण चल्थ्यो । अरू देउसे टोलीहरु अक्सर क्यासेटमा गीत घन्काएर उफ्रिरहँदा हाम्रो मौलिक गीतले घरधनीमा छुट्टै प्रभाव पारेको अनुभूति हुन्थ्यो।
हामीले केही गीत आफैंले लेखेर, खोजेर गाउँथ्यौं भने कुनै गीत भने रिमिक्स गर्दै त्यसमा आफ्नो शब्द हाल्थ्यौं । फिल्म 'दर्पणछाया'को चर्चित गीत ‘लहनाले जुरायो कि बहानाले भेटायो…’ लाई रिमिक्स गरेर गाउँदा ‘उकालीको डाँडैडाँडा कुदे होलान् देउसे भाइ ... ’ बनेको थियो । मादलमा समलाको ताल खोज्दै गाउँको भित्ताभित्तामा हामी देउसे केटा उफ्रिन पाउँदा मन फुरुंग भएको थियो।
तिहारमा माइती र चेलीबीचको महत्ता दर्शाउने अर्को मौलिक गीतले त सबैलाई भावुक बनाएको थियो:
'तिहार ऽऽ तिहार ऽऽऽ
माइतीबिना शून्य लाग्छ यो तिहार
दोबाटोमा कुर्दा-कुर्दा
चोली भिज्यो आँसुले रुँदा-रुँदा ।'
एक सालको देउसी भने यादमा चुर्लुम्म यादमा डुबाउने खालको छ । २०६० सालको कुरा हो । देउसी टोलीमा ७-८ भाइ थियौं । भोलिपल्ट भाइटीका भए पनि रातैभरिको देउसीमा आँखा कचपल्टिने थाहा हुँदाहुँदै बुर्कुशी मारेका थियौं । वर्षमा एकचोटि आउने चाडको फुरफुरको अगाडि घरको खप्कीले के काम गर्थ्यो ! बुवादेखि छुलछुल मुते पनि ममीलाई दङ्ग्याउँदै देउसे टोलीमा सामेल भइएको थियो।
आँगनको एक छेउमा भाँडामाथि भाँडा खप्ट्याएर केही पाक्दै थियो । ओहो ! त्यहाँ त रक्सी बनाइँदै रहेछ । घरबाट चाडबाडको बहानामा निस्किएका आलाकाँचा केटाहरूको मनमा एकाएक रन्थनी छुटिहाल्यो।
घिन्ताङ-घिन्ताङ !!
देउसी खेल्न सुरु भयो । चुहाडे र बाहुन डाँडा हुँदै खोलापारिको तोरीबारी गाउँसम्म देउसी खेल्ने जोस सबैमा सवार थियो । देउसी खेलेर पैसा दामासाहीमा ५०/१०० रुपैयाँ बाँड्नेभन्दा पनि साथीभाइसँग बहकिनुको मज्जाले जोस्याएको थियो । नाच्न नजाने पनि नाचेजस्तो गर्यो, गाउने सुर नलागे पनि आफूलाई रामकृष्ण ढकाल र राजेशपायल ठाने भैगो ! उतिबेला यिनै दुई गायक चल्तीका थिए।
यस्तैमा हाम्रो घरभन्दा थोरै पर रहेको लक्ष्मी म्याडमको घरमा देउसी खेल्न पुगियो । सबै जना परिचित ठिटाहरु आएपछि म्याडम पनि दंग । फुरुक्क हुँदै झन् भट्याउन थाल्यौं-
'आहैऽऽ लक्ष्मी म्याडम – देउसी रे!
यतिले भएन – देउसी रे!'
औंसीको रातमा शीत पोखिँदै गर्दा म्याडमको घरको आँगन झिलिमिली थियो । आँगनको एक छेउमा भाँडामाथि भाँडा खप्ट्याएर केही पाक्दै थियो । ओहो ! त्यहाँ त रक्सी बनाइँदै रहेछ।
घरबाट चाडबाडको बहानामा निस्किएका आलाकाँचा केटाहरूको मनमा एकाएक रन्थनी छुटिहाल्यो । टोलीमा सीपी दर्लामी, नविन राई, प्रदीप कार्की, अंकुल थापा, दिलीप यादव, निराज गिरी र खड्ग माझी थिए । यो टोलीमा कतिपय त ‘हामी त जातले पा’को’ भनेर दन्काइहाल्ने प्राणी थिए । तर, कहिल्यै एक घुट्को नखाएका म र अरू केही ठिटा हदै आलोकाँचै रैछौं । मौका यही हो भन्ने भान परिदिए अरूहरूले।
देउसेहरूलाई रक्सी चखाउन पाउँदा लक्ष्मी म्याडम दंग नपर्ने कुरै थिएन । कुनै समय आफूलाई प्राथमिक तहमा पढाउने म्याडम भए पनि समयको अन्तरालमा उनी छिमेकी अन्टी भइसकेकी थिइन् । के लाज र के संकोच ! त्यसमाथि चाडले थोरथोरै बहकिन लाइसेन्स दिएसरह मानिएकै थियो।
हैट् ! गिलास भरेर सामुन्नेमा ल्याइसकेछन् केटाहरूले।
उहू ! गन्धले नै नाक पोल्यो । खाँदा झन् ठहरै भइने हो कि!
दिमागमा एक्कासि सोचको झिल्को उठ्यो, नारानगोपाल, अरूण थापाहरू के खान्थे ? रक्सी त हो नि ! त्यो अल्लारे बेलामा गायक बन्ने नशा चढेको थियो । आदर्श गायकहरुको जीवनकहानी पल्टाउँदा तिनमा रक्सीको अध्याय बाक्लै देखेपछि त्यो त गायकीमा औषधि नै रैछ क्यार भन्ने लागिरहेको थियो।
आज त्यो औषधिले गला सुरिलो पार्न जुरेको रैछ भन्ने लाग्यो ।
नारानगोपाल, अरूण थापाहरूको गला यस्सै त्यति सुरिलो भा’को हो र ? रक्सीले औषधिको पो काम गर्छ बाबै!
मैले त्यहाँ पनि केटाहरूको बीच यही कुरा निकालेँ । फिलिली हाँसे जम्मै । गिलास खाली पार्न जोस्याए, 'गजब काम गर्छ यसले स्वर खुलाउन।'
केटाहरुले हाँसेर मलाई कार्टुन बनाए भन्ने लाग्यो । तर, देउसी टोलीमा गाउने नाइके त मैं थिएँ । केटाहरूले टोलीको नारानगोपाललाई जानाजान मलाई कहाँ बिगार्छन् र भनेर गिलास मुखतिर बढाएँ । केटाहरूले पनि ‘हो है हो, अब खुलेर गाउनुपर्छ’ भन्दै गिलास स्वाट्ट पार्न उक्साए ।
गिलास ठाडो घाँटी लगाएँ । घाँटी खिर्याउँदै मनतातो झोल पेटमा अवतरण भयो। पिरो, टर्रो, अमिलो, तीतो एकैसाथ भयो । हल्का रमरमका बीच स्वर खुलेको आभासमा मन उल्कै रमायो।
त्यसपछिका अरु घरमा अझै जोसिएर गीत गाइयो । रात छ्याङ्गै पारियो । भोलिपल्ट भाइटीकामा अनिदो आँखाले भुसुभुसु उँघ्दै फुच्चे नारायणगोपालले टीका थाप्दो भयो!
पछिल्ला वर्षहरूमा देउसी खेल्ने सुयोग नमिले पनि गीत गुनगुनाउने रुचिले अवकाश लिएको छैन । चलनचल्तीका 'म्युजिक भिडियो गायक'हरुभन्दा कम छैन स्वर । थाहा छैन, त्यो रात घुट्क्याएको रक्सीको तागतले अझै काम गरिराखेको हो कि ! :-)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।